सूचनाको शक्ति - The Power Of Information

        

मानिसलाई टोक्दै हिँड्ने कुकुर कोहलपुर नगर प्रहरीको नियन्त्रणमा

कोहलपुर नगरपालिका–१० रामजानकी स्कुल आसपासमा मानिसहरुलाई टोक्दै हिँड्ने कुकुरलाई नगर प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोहलपुर नगरपालिका पशु सेवा केन्द्र, इस्ट्रिक एनिमल नेपाल, नेपालगञ्ज एनिमल रेस्क्यु टिमलगायतको सहयोग र सहकार्यमा नगर प्रहरीले उक्त कुकुरलाई नियन्त्रणमा लिएको कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए ।

स्कुले विद्यार्थीसहित स्थानीय ७/८ जनाले टोकेपछि स्थानीयबासी त्रसित भएका थिए । कुकुरलाई लठ्याएर नियन्त्रणमा लिइएको नगर प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको कुकुरलाई पशु सेवा केन्द्रमा राखिएको कोहलपुर नगरपालिकाका पशु सेवा केन्द्र प्रमुख गोविन्द रोकायले जानकारी दिए । उक्त कुकुरमा रेविज भए नभएको पुष्टि गर्ने काम भइरहेको उनले बताए ।

‘नियन्त्रणमा लिइएको कुकुर केन्द्रमा राखिएको छ उनले भने–‘यसले व्यक्त गर्ने लक्षण चिन्हका आधारमा रेविज भएनभएको हेर्छौं शंका लागे परीक्षणका लागि नमुना जाँचको प्रक्रिया थाल्छौं ।’

बौलाएको कुकुरले जथाभावि मानिसहरुलाई टोक्न थालेपछि स्थानीयबासीले नगर प्रहरीलाई गुहारेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार १७:११