नेपाली सेनाका पूर्वरथी बलदेवराज महत मृत अवस्थामा फेला पर्नुभएको छ ।
५ वर्षअघि नेपाली सेनाबाट अवकास पाउनुभएका महत शनिबार बिहान मृत भेटिनुभएको हो ।
पूर्वरथी महत बुढानीलकण्ठ–९ मा रहेको सिरडी कोलोनीस्थित आफ्नै निवास झुण्डिएको अवस्थामा फेला पर्नुभएको बताइएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले महतको मृत्युको कारण खुलिनसकेको जानकारी दिनुभएको छ ।
६२ वर्षीय महतको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको थियो । पोस्टमार्टम सकेर परिवारले महतको शव दाहसंस्कारका लागि बुझिसकेका छन् ।
महत हास्य व्यंग्यकार समेत हुनुहुन्थीयो । महतका ‘चिप्ला कुरा’, ‘एकै ड्याङका मुला’,‘दुवै हातमा लड्डु’,‘कुर्सीको जय होस्,’‘भालुलाई पुराण’,‘चोरको खुट्टा काट्’,‘आफ्नो हात जगन्नाथ’, लगायत कृति प्रकाशित छन् ।
सत्यपाटी संवाददाता । काठमाडौँ