हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ ।
आज दिउँसो प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । राती देशभर मौसम सामान्यतः सफा रहनेछ । तराई भू–भागमा हुस्सु र कुहिरो लाग्न थालेको छ । दैनिक क्रमशः तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ । देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गइरहेको छ ।
यस्तो बेलामा चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘तराई भूभागमा हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ ।’
यसैबीच आज बिहान ५ः४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस रहेको महाशाखाका मौसमविद् गोविन्दकुमार झाले जानकारी दिए । उनका अनुसार यो पुनः बिहान ८ः४५ बजे अपडेट गरिनेछ । त्यसैबेलाको तापक्रमलाई आजको आधिकारिक न्यूनतम तापक्रम मानिनेछ । साथै ८ः४५ बजे देशका अन्य स्थानको न्यूनतम तापक्रम पनि महाशाखाले प्रकाशन गर्नेछ ।
सत्यपाटी संवाददाता । काठमाडौं