सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

जसपामा उपेन्द्र र अशोकबीच टकराब, पार्टी फेरि विभाजनतिर

सत्ताकै कारण अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष अशोक राईबीच मतभेद बढ्दै जाँदा जसपा विभाजन हुने खतरामा पुगेको छ ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणामले राजनीतिक दलको आन्तरिक शक्ति सन्तुलनमा नराम्ररी फेरबदल ल्याएको छ । राजनीतिक दलको आन्तरिक शक्ति सन्तुलनमा आएको फेरबदलले राजनीतिक दल विभाजन हुने खतरासमेत देखिएको छ ।

यस्तो खतरा ठूलाभन्दा साना दलमा धेरै देखिन्छ । मधेस आधार भएको दल जनता समाजवादी पार्टी, नेपाल (जसपा)मा निर्वाचन परिणामको प्रभाव सबैभन्दा पहिला देखिएको छ । त्यसको मुख्य कारण अध्यक्ष उपेन्द्र यादव पराजित हुनु र संघीय परिषद् अध्यक्ष अशोक राई निर्वाचित हुनु हो ।

अन्तिम समयमा सत्तारुढ गठबन्धन छोडेर नेकपा एमालेसँग तालमेल गर्न पुगेको जसपाले अपेक्षाकृत सफलता पाउन सकेन । जसपाभित्र यतिखेर एमालेसँगको तालमेल र त्यसबाट भएको सफलता या असफलताबारे तीब्र मतभेद सुनिन थालेको छ । अध्यक्ष यादव एमालेले निर्वाचनमा धोका दिएको निष्कर्षमा पुग्दा संघीय परिषद् अध्यक्ष राई भने एमालेले तालमेलमा इमानदारीपूर्वक भूमिका निर्वाह गरेको भनिरहेका छन् ।

यादव पराजयको पीडा बोलिरहेका छन् भने राईबाट जितको भाव सुनिन्छ । तालमेलमा धोका भएको निष्कर्षमा पुगेका अध्यक्ष यादव एमालेसँगको सहकार्य सकिएको निष्कर्षमा पुगेका छन् । उनले सार्वजनिक रुपमै यो विषय बोलिसकेका छन् । तर, राई भने एमालेसँगको सहकार्यलाई निरन्तरता दिनुपर्ने पक्षमा देखिन्छन् ।

उनले सार्वजनिक रूपमै ‘अध्यक्षले बोलेको विषय पार्टीको आधिकारिक धारणा होइन’ भनेर खण्डन गरेका छन् । एमालेसँग सहकार्यको सन्दर्भमा यादव र राईबीच देखिएको मतभेद जसपाभित्र तल्लो तहसम्म नै देखिन्छ । विशेष गरी अशोक खेमाले एमालेसँगको सहकार्यलाई निरन्तरता दिनुपर्ने अडान लिएपछि यस्तो अवस्था बनेको हो ।

यादव पक्षका केही नेता त अशोक एमालेमै फर्कन चाहेको आरोपसमेत लगाउने गरेका छन् । अब बन्ने सरकारमा सहभागी हुने या नहुने ? भन्ने विषयले जसपामा दरार उत्पन्न गराएको छ । उपेन्द्र पुरानै गठबन्धनसँग मिलेर सरकारमा सहभागी हुन चाहन्छन् तर अशोक भने त्यसको पक्षमा खुलेको देखिन्न ।

अध्यक्ष पराजित हुँदा निर्वाचन जितेका अशोक आफू शक्तिमा आएको बुझाइ राख्छन् । र, आफू नै संसदीय दलको नेता बन्ने र सरकारमा सहभागी हुने उनको चाहना हो । तर, उपेन्द्र भन्ने अशोकलाई संसदीय दलको नेता बनाउन त्यतिधेरै रुचि राख्दैनन् । प्रत्यक्षतर्फ ७ र केही समानुपातिक सांसद भएको जसपाले सरकार गठनमा राम्रै भूमिका खेल्न सक्नेछ । जसपामा निर्वाचन हारे पनि बलियो भने उपेन्द्र नै हुन् ।

यसपटक पनि पहाडी भूभागमा अशोकबाहेक अरुले निर्वाचन जित्न सकेनन् । त्यसैले अशोक कमजोर छन् । निर्वाचन जितेपछि अशोकले आफू शक्तिशाली भएको झै गतिविधि गर्न थालेपछि उपेन्द्र रुष्ट छन् । यस्तो टकराव बढ्दै जाने हो भने महिना दिनभित्रै हुने संसदीय दलको निर्वाचनमा अशोक पराजित हुने सम्भावना देखिन्छ ।

पार्टी एकतादेखि नै मधेसको पेलानमा पदै आएका अशोक भने सके पार्टी कब्जा गर्ने, नसके बाहिरिने तयारीमा रहेको समेत चर्चा छ । अशोकका कतिपय गतिविधि पनि त्यस्तै देखिन्छ । यसरी उपेन्द्र र अशोकबीच टकराब उत्पन्न हुँदा जसपा नै विभाजन हुने खतरासमेत रहेको । यस पटकको संसदमा २–४ सांसदको समेत ठूलो महत्व हुने भएकाले जसपा जस्ता साना दल त्यसको सिकार बन्ने सम्भावना धेरै रहन्छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार ०८:०४