सूचनाको शक्ति - The Power Of Information

        

नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित

 आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलाकाे चौथो तथा अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग आठ विकेटले पराजित भएकाे छ ।

नेपालले दिएकाे एक सय २० रनकाे सामान्य लक्ष्य स्कटल्यान्डले १६ ओभर ५ बलमा मात्र दुई विकेट गुमाएर भेटायाे । स्कटल्यान्डका लागि क्रिस्टाेफर म्याकब्राइडले नटआउट ४६ र जर्ज मुन्सेले ४५ रन बनाए । बलिङतर्फ नेपालका गुलसन झा र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।

यसअघि नामिबियाकाे युनाइटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा टस जितेर ब्याटिङ गरेकाे नेपाल ३५ ओभर ३ बलमा एक सय १९ रन बनाउँदा अलआउट भयाे । नेपालका लागि कप्तान राेहित पाैडेलले सर्वाधिक ४७ रन बनाए । बलिङतर्फ ब्रान्डन म्याकमुलेन, सफयान शरिफ र मार्क वाटले दुई/दुई विकेट लिए ।

याेसँगै नेपाल त्रिदेशीय एकदिवसीय शृङ्खलामा जितविहीन भएकाे छ । नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहीन भएकाे थियाे । दाेस्राे खेलमा नेपाल स्कटल्यान्डसँग तीन विकेटले पराजित भएको थियो । यस्तै तेस्राे खेलमा नेपाल नामिबियासँग ८६ रनले पराजित भएकाे थियाे ।

सात टोली सहभागी विश्व कप लिग–२ मा नेपाल २४ खेलमा १८ अङ्कसहित छैटाैँ स्थानमा रहेको छ । स्कटल्यान्ड ३२ खेलमा ४६ अङ्कका साथ शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार १९:४५