सूचनाको शक्ति - The Power Of Information

        

जडिबुटी प्रशोधन केन्द्र अलपत्र

सुर्खेतमा निर्माण गरिएको जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा अलपत्र परेको छ । काँक्रेविहार संरक्षित क्षेत्रको सीमासँगै जोडिएको करिब सात कट्ठा जग्गामा बनेको जडिबुटी प्रशोधन केन्द्र अलपत्र परेको हो ।

केन्द्रको भौतिक संरचना तयार भएको ६ महिना पुगिसक्दा पनि उद्देश्यअनुसार सञ्चालनमा आउन सकेको छैन । सुर्खेत उद्योग वाणिज्य संघले जडिबुटी संकलन, प्रशोधन तथा व्यवसाय केन्द्र सञ्चालनका लागि पूर्वाधार तयार गरेको हो ।

पूर्वाधार निर्माणका लागि निजी तथा साझेदारी मोडलमा करिब ४ करोड रुपैयाँ खर्च भएको छ । २०६८ सालबाट प्रशोधन केन्द्र निर्माणको काम थालनी भएको हो । संरचना निर्माणमै उद्योग वाणिज्य संघले दशक बढी समय खर्चिएको छ ।

निजी लगानीमा जडिबुटी संकलन गर्ने गरिए पनि सरकारी स्तरमा जडिबुटी संकलन तथा भण्डारण केन्द्र नहुँदा सड्ने र गुणस्तर कायम गर्न निकै चुनौती भएको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल बताउँछन् ।

कर्णालीमा १४७ भन्दा बढी जडिबुटी पाइने अुनमान गरिएको छ । अहिले कर्णालीका व्यवसायीले लुम्बिनी प्रदेशको नेपालगन्ज हुँदै भारततर्फ सस्तो मूल्यमा जडिबुटी विक्री वितरण गर्न बाध्य रहेको व्यवसायीहरुको गुनासो छ ।

जडिबुटी संकल तथा प्रशोधन केन्द्र सञ्चालनमा आएपछि कर्णालीका जडिबुटी व्यवसायीलाई सहज हुनेछ । सुर्खेतमै संकलन र प्रशोधन कार्य भएपछि जडिबुटीको ग्रेडिङसहित प्रशोधन गरी बजारीकरणमा सहज हुनेछ भने किसानले उचित मुल्य पाउनेछन् ।

आयातमुखी बजार अर्थतन्त्रलाई निर्यातमुखी बनाउने मुख्य लक्ष्य अनुसार प्रशोधन केन्द्र सञ्चालन गर्ने उद्देश्य राखेर संरचना निर्माण गरे पनि यातायातका लागि सडक पूर्वाधार सुनिश्चित नहुँदा सञ्चालनमा समस्या भएको संघका अध्यक्ष कँडेलले बताए ।

काँक्रेविहार संरक्षित क्षेत्र नेपालको पहिलो संरक्षित क्षेत्र हो । यो प्रशोधन केन्द्रको मूल गेट काँक्रेविहारको सीमासँगै जोडिएको छ । हाल प्रशोधन केन्द्रका लागि काँक्रेविहारभित्रकै बाटो प्रयोग भैरहेको पनि संघका अध्यक्ष कँडेलले जानकारी दिए ।

काँक्रेविहार क्षेत्रले आफ्नो सीमाक्षेत्रमा पर्खाल लगाउँदैछ । निर्माणाधीन पर्खाल बनिसकेपछि प्रशोधन केन्द्रले प्रयोग गरिरहेको सडक बन्द हुनेछ । संरचना निर्माण गर्दा बाटो, विद्युत लगायतका विषयमा ध्यान नपुर्याउँदा अहिले अन्यौल सिर्जना भएको छ ।

स्थायी बाटो नै नभएको स्थानमा करोडौं लगानी गरेर संरचना निर्माण गर्नु लठ्यौलीपन भएको जानकारहरु तर्क गर्छन् । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष कँडेलले सडकका लागि अदालतको फैसला कुरेको बताए ।

काँक्रेविहारको सीमाक्षेत्र बाहिर जग्गा छोडेर पर्खाल लगाउन थालेपछि सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो । समाचारपछि अधिवक्ता शेरबहादुर खत्रीद्वारा परेको रिट निवेदन उपर उच्च अदालत सुर्खेतले पर्खाल निर्माणको काम रोकेको छ ।

अध्यक्ष कँडेलले उक्त रिट निवेदन उपरको फैसलापछि बाटोको लागि उपयुक्त निर्णय लिने बताए । प्रशोधन केन्द्र सञ्चालनमा औजार उपकरण खरिदका लागि पहल भैरहेको संघका अध्यक्ष कँडेलले जानकारी दिए ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार ०९:४३