सूचनाको शक्ति - The Power Of Information

        

सल्यानमा टिमुर उत्पादन घट्यो

जिल्लामा यो वर्ष टिमुर उत्पादन घटेको छ । टिमुरको बोटमा फुल फुल्ने र दाना लाग्ने समयम पानी नपर्दा उत्पादनमा कमी आएको हो । बनगाड कुपिण्डे नगरपलिका ९ सेरागाउँबाट मात्र गर्त वर्ष ५० लाख बराबरको टिमुर निकासी भए पनि यस वर्ष १० लाख पुग्न गाह्रो हुने स्थानीय सेतु बुढाले बताए ।

गत वर्ष २० क्विन्टल टिमुर बिक्री गरेका उनले यो वर्ष २० किलो पनि पुग्न पनि गाह्रो भएको बताए । नगदे आम्दानीको मुख्य स्रोत नै बन्द भएपछि दैनिक गुजारा चलाउन समस्या हुने उनको भनाइ छ । ‘टिमुर बिक्री गरेर वर्षभरको घरखर्च चल्थ्यो,’ उनले भने, ‘यो वर्ष टिमुर नै नफलेपछि गाह्रो हुने भयो ।’

अर्का किसान पूर्णबहादुर बुढाले यो वर्ष आफ्नोमा टिमुर नफलेको बताए । गत वर्ष १० क्विन्टल बिक्री गरेका बुढाले यो वर्ष निकै कम टिमुर फलेकाले बारीमै नगएको गुनासो गरे । टिमुरबाट वार्षिक ५ देखि ६ लाखसम्म आम्दानी हुँदै आएकोमा यसपटक एक हजार जुटाउन पनि धौधौ भएको बताए । मसला र औषधीको रूपमा प्रयोग हुने टिमुर सल्यानको महत्त्वपूर्ण नगदेबालीको रूपमा छ ।

जिल्लाका सबै स्थानीय तहमा टिमुर उत्पादन हुन्छ । सल्यानका किसानले टिमुर खेतीबाट मात्र वार्षिक १५ देखि १६ करोड रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । डिभिजन वन कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षमा मात्र १७ करोड रुपैयाँभन्दा बढीको टिमुर जिल्लाबाट निकासी भएको थियो । यो वर्ष उत्पादन घटेपछि किसान चिन्तित छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार ०९:३६