सूचनाको शक्ति - The Power Of Information

        

निजी क्षेत्र असन्तुष्ट, नाडाबाट आन्दोलन सुरू

सवारी साधान लगायत वस्तु आयातमाथिको प्रतिबन्ध खुला गर्न मन्त्रिपरिषद्ले नीतिगत सहमति गरेको दुई दिन नहुँदै निजी क्षेत्र सडकमा ओर्लिने भएको छ ।

नाडा अटोमोबाइल्स एशाेसिएसन आफ नेपालले सरकारसँग १० वटा माग राख्दै बिहीबारदेखि चरणबद्ध आन्दोलन गर्ने भएको हो । यसअघि नै आन्दोलको घोषणा गरेको नाडाले बिहीबार राजधानीको माइतीघरमा शान्तिपूर्ण भेला गर्ने कार्यक्रम राखेको छ । विरोधका कार्यक्रम चरणवद्ध रुपमा गरिने छ ।

केही वस्तुको आयातमा प्रतिबन्ध, तरलता अभाव, चर्को बैंक ब्याजदर र चालू पूँजी कर्जाको पछिल्लो निर्देशनले असन्तुष्ट बनेको निजी क्षेत्र करिब एक महिना अघि सडक आन्दोलमा उत्रेको थियो ।

निजी क्षेत्रका छाता संगठनहरूको मौन स्वीकृतिमा विभिन्न व्यवसायिक संघ संगठनहरूले काठमाडौंबाट सुरु भएको विरोध एक साताभित्रै देशभर पुगेको थियो ।

स्रोत : कारोबार दैनिक
प्रकाशित मिति : २२ मंसिर २०७९, बिहीबार ०७:३४