सूचनाको शक्ति - The Power Of Information

        

चोलेन्द्रलाई संसद सचिवालयले दियो ‘क्लिन चिट’

चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै संसदका महासचिव डा भरतराज गौतमले ‘क्लिन चिट’ दिएपछि यो विषयले राजनीतिक विवाद उत्पन्न गर्ने देखिएको छ ।

महाअभियोगको प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका राणालाई संसदका महासचिव डा. गौतमले बुधबार ‘क्लिन चिट’ दिएका हुन् । ‘क्लिन चिट’ पाएसँगै राणा सर्वोच्च फर्कने तयारीमा छन् ।

तर, प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले भने चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग सम्बन्धी प्रस्तावलाई नवनिर्वाचित आगामी प्रतिनिधिसभाले अगाडि बढाउने बताएका छन् ।

उनले राणालाई ‘क्लिन चिट’ दिएको समाचारमा मात्र सुनेको बताउँदै यदि त्यसो गरिएकै हो भने त्यो गलत हुने बताएका छन् । गत १ असोजमा सभामुख सापकोटाले राणाविरुद्धको महाभियोग प्रस्तावबारे आमनिर्वाचन–२०७९ पछि निर्वाचित हुने प्रतिनिधिसभाले निर्णय गर्ने गरी फाइल अघि बढाएका थिए ।

तर, आमनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै संसदका महासचिव गौतमले अकस्मात राणालाई ‘क्लिन चिट’ दिएका छन् । प्रधानन्यायाधीश राणाको कार्यकाल अब ६ दिनमात्र बाँकी छ । उनी यही मंसिर २७ गते अवकाश हुँदैछन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार १६:३६