सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

कर्णाली प्रदेशसभामा तीन दल मात्रै, सरकार गठनमा रस्साकस्सी

बराबरी सिट जितेको कांग्रेस र माओवादीबीच सरकार नेतृत्व कसले लिने भन्नेबारे रस्साकसी हुनेछ ।

कर्णाली प्रदेशसभामा तीन राजनीतिक दलको मात्र प्रतिनिधित्व देखिएको छ । निर्वाचन अघि धेरै दलहरू देखिए पनि यस्ता दलहरूलाई कर्णालीवासीले नपत्याएको मतपरिणमले देखाएको छ ।

यस प्रदेशसभामा कांग्रेस, माओवादी केन्द्र र एमालेको मात्रैको प्रतिनिधित्व हुनेछ । कर्णाली प्रदेशसभामा कांग्रेसले ९ सिट जितेको छ। यहाँ माओवादी केन्द्रले पनि ९ सिटमै जित निकालेको छ भने एमालेले ५ सिट जितेको छ ।

प्रदेश सरकार गठनमा कर्णाली प्रदेशमा रोचक माहौल देखिने सम्भावना छ । बराबरी सिट जितेको कांग्रेस र माओवादीबीच सरकार नेतृत्व कसले लिने भन्नेबारे रस्साकस्सी हुनेछ । दुई दलले आ–आफ्नो नेतृत्वमा सरकार गठन गर्नुपर्ने दाबी रहँदा किचलो देखिन सक्नेछ ।

उनीहरूबीच यस विषयमा सत्ता सहकार्यका लागि एमाले र स्वतन्त्र सांसद निर्णायक हुनेछन् । एमाले र स्वतन्त्र सांसदलाई साथमा लिएर कांग्रेस र माओवादीमध्ये जसले बहुमत पुर्याउन सक्छ सो दलको नेतृत्वमा सरकार बन्न सक्नेछ ।

बराबर सिट पाएर पनि उनीहरूमध्ये एकले प्रतिपक्षमा बस्नुपर्नेछ । यद्यपि, संघीय सरकारमा कांग्रेस, माओवादी एउटै गठबन्धनमा रहेकाले प्रदेश तहमा समेत सोही गठबन्धनले निरन्तरता पाउने सम्भावना पनि छ । कर्णाली प्रदेशसभाका स्वतन्त्र सांसद ५९ वर्षीय देवेन्द्रबहादुर शाही हुन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार ०८:१५