सबै विद्यार्थी केही बोल्न नसक्ने र केही सुन्न नसक्ने छन् । जहाँ अन्य विद्यालयभन्दा फरक तरिकाले पढाउनुपर्छ । १० कक्षासम्मको विद्यालयमा ९६ जना विद्यार्थी छन् । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई सांकेतिक भाषामै पढाउनुपर्छ ।
त्यसैले पनि शिक्षकले हात र मुखको इशारा गरेर ती बालबालिकालाई अध्यापन गराउनुपर्छ । सुन्ने र बोल्ने क्षमता नभएका बालबालिकाको शैक्षिक केन्द्रका रूपमा रहेको विद्यालय हो, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित सिद्ध बहिरा बाल स्कुल ।
विद्यालयमा कुल १० जना शिक्षक कार्यरत छन् । जसमध्ये ६ जना शिक्षक विशेष शिक्षा परिषद्बाट नियुक्त भएका हुन् । चार जना हेरचाहकर्ता र तीन जना कार्यालय सहयोगी गरी कुल १७ जनाको जनशक्ति विद्यालयमा उपलब्ध छ ।
कुल ९६ जना अध्ययनरत विद्यालयमा ८१ जना बालबालिकाले आवासीय सुविधासहितको शिक्षा लिइरहेका छन् । यद्यपी विद्यालयमा विषयगत संकेत सामग्रीको अभावका कारण सुन्ने र बोल्ने क्षमता नभएका विद्यार्थीको पठनपाठनमा समस्या भइरहेको छ ।
‘साना कक्षामा सांकेतिक संकेत अभावले खासै समस्या हुँदैन,’ विद्यालयका प्राध्यानाध्यापक चिन्तामणी कँडेलले भने, ‘खासगरी पठनपाठनमा प्रयोग हुने सांकेतिक संकेत अभावले माथिल्लो कक्षाका विद्यार्थीहरु भने प्रभावित बन्ने गरेका छन् ।’
खासगरी विद्यालयमा गणित, विज्ञान, वातावरण शिक्षा लगायतका विषयहरुमा शिक्षकलाई अध्यापनमा समस्या हुन्छ । कक्षा १० सम्म अध्यापन गराइरहेका शिक्षकहरुमा विषयगत संकेत अभाव देखिने प्रधानाध्यापक कँडेल बताउँछन् ।
उनले भने, ‘संकेत अभावले गर्दा शिक्षकले बुझाउन खोजेको शब्द विद्यार्थीले प्रष्ट बुझ्दैनन् अथवा बुझाइएको शब्दले अर्को अर्थ लगाउन सक्ने जोखिम हुन्छ । विषयगत संकेत अभावले विद्यार्थीलाई प्रष्ट अर्थ जनाउन शिक्षकलाई गाह्रो पर्छ ।’
यस्तो अवस्थामा विद्यार्थीले पनि वास्तविक अर्थ बुझ्न नसक्ने समस्यामा रहेको कँडेलले बताए । यहाँ मात्रै नभएर देशव्यापी रुपमै यो समस्या रहेको छ । कँडेलका अनुसार नेपालमा विषयगत संकेतका लागि कार्यक्रम सञ्चालन तथा अध्ययन अनुसन्धान शुरु भएका छैनन् ।
विषयगत संकेतका विषयमा नेपालमा पुस्तकहरुको पनि अभाव रहेको प्रधानाध्यापक कँडेल बताउँछन् । उनका अनुसार अन्य मुलुकहरुमा विषयगत संकेतहरुको व्यवस्था गरिएको छ । तर नेपालमा भने अन्य मुलुकको संकेतले काम गर्दैन ।
‘पुराना शिक्षकलाई विज्ञान विषय अध्यापन गराउँदा समस्या उत्पन्न हुन्छ । यस विषयमा हामी शिक्षकहरुले प्रयास पनि गरेका छौं,’ उनले भने, ‘सांकेतिक भाषाका लागि तालिम सञ्चालन गरेका थियौं । शिक्षकहरुलाई विषयगत संकेतका लागि थप तालिमहरुको आवश्यक छ ।’
प्रधानाध्यापक कँडेलले सुन्न र बोल्न नसक्ने बालबालिकाको शैक्षिक केन्द्रका रूपमा स्थापित विद्यालय आफैंले भने सधैं अभाव खेप्नुपरेको पनि बताए । ‘विद्यालयको भवन जीर्ण अवस्थामा पुगेको छ । त्यसैमा पनि कक्षा कोठाको नै अभाव छ,’ उनले भने ।
२०३७ सालमा स्थापना भएको यो विद्यालय भवन, खेल मैदान, पाठ्यपुस्तक, शिक्षक, आवश्यक बजेटजस्ता विभिन्न कुराको अभाव खेप्दै आएको छ । उचित स्रोतसाधन र अपर्याप्त शिक्षक दरबन्दीका कारण विद्यालयको स्थिति नाजुक रहेको प्रधानाध्यापक कँडेलले बताए ।
प्रधानाध्यापक शर्माका अनुसार विद्यालयमा प्राथमिक तहमा एक जना, निम्न माध्यमिक तहमा ४ र माध्यमिक तहमा १ जना गरी ६ जनाको दरबन्दी रहेको छ । विद्यालयमा कम्तीमा ९ जना शिक्षक आवश्यक पर्ने प्रधानाध्यापक कँडेलले बताए ।
प्रधानाध्यापक कँडेलले अन्य विद्यालयका शिक्षकसरह यहाँका शिक्षकलाई सेवासुविधा नभएको गुनासो गरे । ‘अरु विद्यालयमा शिक्षकलाई विभिन्न किसिमको सेवासुविधा, भत्ता हुन्छ,’ उनले भने, ‘हामी यहाँ तलबकै भरमा मात्रै अरु विद्यालयको भन्दा मेहेनतका साथ पढाउछौं ।’
वीरेन्द्रनगरमा रहेको यो विद्यालय अहिले सुन्ने र बोल्ने क्षमता नभएका बालबालिका अध्ययन गर्न एउटामात्र विद्यालयका रूपमा छ । सुर्खेतका बड्डीचौर, मालारानी र गुमीमा रहेको यस्ता प्रकृतिका विद्यालयहरू गाँभेर यही विद्यालयमा ल्याइएको हो ।
विद्यालयको नौ कोठे भवनभित्र एउटा कोठामा कार्यालय सञ्चालनमा छ भने बाँकी कोठामा कक्षा सञ्चालन भइरहेका छन् । ‘पानी पर्दा सबै कक्षाहरू चुहिएर पोखरी बन्छन्, गर्मीमा सिधै सूर्यको प्रकाश कोठाभित्रै पर्छ,’ प्रधानाध्यापक कँडेलले भने ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–८, खजुरामा जीर्ण अवस्थामा प्रदेशकै एकमात्र सिद्ध बहिरा बाल स्कुल ।
बर्खाको समयमा विद्यालयमा बढी सास्ती हुने गरेको बताउँदै प्रधानाध्यापक कँडेलले भने, ‘विद्यालयको भवनसँगै शौचालयसमेत जीर्ण अवस्थामा छ । अझ विद्यालयमा खानेपानीको व्यवस्था नहुँदा विद्यार्थीलाई पसलबाट किनेर पानीको व्यवस्था गर्नुपरेको छ ।’
अहिले पनि संघीय सरकारकै स्वामित्वमा रहेको विद्यालय स्थानीय सरकार मातहत गएको भए सहयोग पाइने प्रधानाध्यापक कँडेलको अपेक्षा छ । विशेष शिक्षाअन्तर्गत् शिक्षा मन्त्रालयले केही सहयोग गरे पनि पूर्णरूपमा सरकारकै तर्फबाट विद्यालयलाई सहयोग नभएको उनले बताए ।
विशेष शिक्षामार्फत् सञ्चालन भएको विद्यालयमा बहिरा विद्यार्थीलाई पढाउने शैक्षिक सामग्री नहुँदा अध्यापनमा समस्या परेको विद्यालयका अंग्रेजी शिक्षक रमेशकुमार कार्कीले बताए । उनले सांकेतिक भाषाका लागि आवश्यक सामग्री नहुँदा पठनपाठनमा समस्या रहेको बताए ।
उनले भने, ‘नेपालीमा ट्रान्सलेट गरी फेरि सांकेतिकरूपमा बुझाउन गाह्रो हुन्छ । यसका लागि विशेष शैक्षिक सामग्री भए सजिलो हुन्छ ।’ सम्बन्धित विभागले नै पाठ्यक्रम अनुसार सांकेतिक संकेत चिन्हहरुको विकास तथा अनुसन्धानमा ध्यान दिनुपर्ने उनको धारणा छ ।
श्रवणशक्ति नभएका विद्यार्थीका लागि अध्ययन गर्ने प्रदेशकै एक मात्र विद्यालय भएकाले पनि यहाँ विद्यार्थी आउने क्रम बढ्दो छ । तर आर्थिक अवस्था र पूर्वाधार नहुँदा विद्यालयमा दिनहुँ समस्या हुने गरेको अंग्रेजी शिक्षक कार्कीले बताए ।
सांकेतिक भाषाको पढन पाठन हुने विद्यालयको पहिचान जोगाउन र विद्यालयको शैक्षिकस्तर सुधारका लागि राज्यले ध्यान नदिएको अभिभावक लक्ष्मी उपाध्यायले बताइन् । उनले भनिन्, ‘राज्यले नै ध्यान नदिँदा बालबालिकाहरुको पठनपाठन प्रभावित भइरहेको छ ।’
सुन्ने र बोल्ने क्षमता नहुँदा हाउभाउबाट अध्ययन अध्यापन भइरहेको स्कुल आफै अभाव र समस्याबाट गुज्रिएको अर्का अभिभावक नवराज भण्डारीले बताए । ‘विद्यालयको समग्र विकासका लागि राज्य नै बेखबर छ, बालबालिकाको भविष्यका बारेमा राज्यले नै सोच्नुपर्छ ।’
‘सुस्तश्रवण क्षमताका विद्यार्थीले भौतिक संरचना, शैक्षिक सामग्री, अपांगमैत्री सरंचनाको अभावसँग सांकेतिक भाषामा विज्ञ शिक्षकको अभावसमेत झेलिरहेको उनको गुनासो छ । आर्थिक अवस्था र पूर्वाधार नहुँदा विद्यालयमा दिनहुँ समस्या हुने गरेको छ ।
प्रधानाध्यापक कँडेलका अनुसार वीरेन्द्रनगर नगरपालिकाले गत आर्थिक वर्षमा पर्खालका लागि दिएको ५० लाख रुपैयाँले अहिले पर्खाल बनिरहेको छ । अन्य विद्यालयका शिक्षकसरह यहाँका शिक्षकहरूलाई सेवासुविधा नभएको गुनासो गरे ।
‘अरु विद्यालयमा शिक्षकहरूलाई विभिन्न किसिमको सेवासुविधा, भत्ता हुन्छ,’ उनले भने, ‘हामी यहाँ अरु विद्यालयको भन्दा मेहेनतका साथ पढाउनुपर्छ, चोखो तलबमात्र खाएका छौं ।’ यो विद्यालय अहिले पनि संघीय सरकारकै स्वामित्वमा छ ।
यस स्कुलमा निर्वाचनका बेला मतदान केन्द्र पनि राख्ने गरिएको छ । जीर्ण अवस्थामा रहेको प्रदेशकै एकमात्र सिद्ध बहिरा स्कुलको पूर्वाधार तथा शैक्षिक गुणस्तर विकासमा न कुनै जनप्रतिनिधिको ध्यान पुगेको छ, न त निर्वाचनपछि प्रदेश तथा संघका सांसदको नजर पर्ने गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालको वडा पनि यही पर्छ । उनी एमालेबाट २०७४ को स्थानीय तह निर्वाचनमा उपमेयरमा विजयी भएकी थिइन् भने २०७९ को स्थानीय निर्वाचनमा मेयरमा विजयी भएकी हुन् ।
‘यहाँ जसले जिते पनि विद्यालयका लागि कसैले केही गरेका छैनन्,’ विद्यालयका अभिभावक दिपक विसीले भने, ‘सुन्ने र बोल्ने क्षमता नभएका बालबालिकाहरु शैक्षिक वृत्ति विकासबाट बञ्चित भएका छन् । उनीहरुको अवस्थाका बारेमा राज्य नै बेखबर छ ।’
उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि शैक्षिक सामाग्री खरिद गर्न सरकारले प्रतिविद्यार्थी मासिक ५०० रुपैयाँ उपलब्ध गराउँदै आएको छ । विद्यालयमा हाल सुर्खेत, दैलेख, कालिकोट, हुम्ला, डोल्पा, जाजरकोट, मुगु, सल्यान, बाँके, बर्दिया र कैलालीका विद्यार्थी अध्ययनरत छन् ।
९६ जना विद्यार्थी अध्ययनरत सिद्ध बहिरा बाल स्कुलमा ४६ छात्रा र ५० छात्र रहेका छन् । यहाँ ५ छात्र र ९ छात्रा गरी १४ जना दलित विद्यार्थी रहेका छन् । विद्यालयमा ८१ जना आवासीयरुपमै अध्ययन गरिरहेका छन् भने १५ जना घरबाटै आवतजावत गर्दै आएका छन् ।
विद्यालयमा सबैभन्दा धेरै दैलेख जिल्लाका ३४ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक कँडेलले जानकारी दिए । उनका अनुसार विद्यालयमा सुर्खेतका २८ जना, कालिकोटका १५, हुम्लाका १५, जाजरकोटका ४, कैलालीका ३, अछामका ३, डोल्पाका २, मुगुका १ र डोटीका १ जना विद्यार्थी अध्ययन गर्दै आएका छन् ।
सुरेश आचार्य । सुर्खेत