सूचनाको शक्ति - The Power Of Information

        

मारमा उपभोक्ता

इन्धनको मूल्य नघटाउँदा आयल निगमलाई मासिक सवा अर्ब नाफा

इन्धनको मूल्य लगातार घट्दै गए पनि आइओसीलाई तिर्न बक्यौता बाँकी र सरकारको ऋण देखाएर मूल्य नघटाउँदा त्यसको मारमा उपभोक्ता परेका छन् ।

पछिल्लो तीन महिनामा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै आएको छ । एक वर्षअघि रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा बढेको इन्धनको मूल्य पछिल्लो समय घट्दै आएको छ ।

गत भदौ १९ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ९३ डलर रहेको इन्धनको मूल्य हाल घटेर ८५ डलरमा झरेको छ । उपभोक्तालाई राहत दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा गत असार ११ गते पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ घटाइएको थियो तर कर समायोजन भएन ।

त्यसपछि असार २० गते मूल्य बढेर आएको भन्दै पेट्रोल प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरी १८१, डिजेल र मट्टीतेलमा नौ रुपैयाँ वृद्धि गरी १७२ रुपैयाँ र हवाई इन्धनमा पाँच रुपैयाँ वृद्धि गरेर १९० रुपैयाँ कायम गरिएको थियो । त्यही मूल्य अहिलेसम्म कायम छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगम एक महिनामा एक अर्ब १७ करोड ४२ लाख नाफामा रहेको छ ।

ग्यासबाहेक सबै नाफामा

हाल पेट्रोलमा प्रतिलिटरमा १३ रुपैयाँ १६ पैसा, डिजेलमा ५३ पैसा, मट्टीतेलमा ३५ रुपैयाँ ३५ पैसा, हवाई इन्धनमा ४२ रुपैयाँ १६ पैसा नाफा रहेको छ । निगमलाई ग्यासमा मात्र प्रतिसिलिन्डर २७७ रुपैयाँ घाटा छ । इन्धनमा लगाइएको उच्च करका कारण पनि उपभोक्ता मूल्य महँगो पर्न गएको छ । प्रतिलिटर पेट्रोलको खरिद मूल्य र अन्य लागत गरी १६७ रुपैयाँ ८४ पैसा रहेको छ ।

यसमा विभिन्न शीर्षकमा लिइएको ६३ रुपैयाँ ८८ पैसा कर पनि जोडिएको छ । यस्तै प्रतिलिटर डिजेलको कुल लागत मूल्य १७७ रुपैयाँ ४७ पैसा (४८ रुपैयाँ ३० पैसा करसहित) र हवाई इन्धन लागत मूल्य १४७ रुपैयाँ ८४ पैसा रहेको छ । ग्यास प्रतिसिलिन्डर २०७७ रुपैयाँ खरिद र लागत मूल्य रहेको निगमले जनाएको छ । राजस्व, ढुवानी भाडा, निगमको प्रशासनिक खर्च, बीमा खर्च, प्राविधिक नोक्सानी, पेट्रोलियम बिक्रेता–ग्यास कम्पनीको खर्च एवं मुनाफा राखेर निगमले उपभोक्ता मूल्य निर्धारण गर्छ ।

हाल बजारमा पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ, डिजेल र मट्टीतेल १७८ रुपैयाँ, हवाई इन्धन आन्तरिक १९० रुपैयाँ र खाना पकाउने एलपी ग्यास एक हजार ८०० रुपैयाँ रहेको छ । हाल छिमेकी मुलुक भारतको रक्सौलको तुलनामा नेपालमा पेट्रोल प्रतिलिटरमा छ रुपैयाँ २३ पैसा र डिजेल २४ रुपैयाँ ५६ पैसा बढी रहेको छ । तीन महिना भयो समायोजन नभएको अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गए पनि नेपाल आयल निगमले स्थानीय बजारमा मूूल्य समायोजन गरेको छैन ।

अन्तर्राष्ट्रिय बजारमा घटेअनुसार मूल्य समायोजन नगर्दा निगम हाल मासिक सवा अर्ब रुपैयाँ नाफा कमाउँदै आएको छ । निगम नाफामा हुँदा पनि ऋण देखाएर उपभोक्ता मूल्य घटाउन आनाकानी गरिरहेको छ । निगमले इन्डियन आयल कर्पाेरेसन (आईओसी)बाट रिफाइन तेल खरिद गर्दै आएको छ । आईओसीले दिएको मूल्यका आधारमा स्थानीय बजारमा मूल्य सामायोजन गर्नुपर्ने भए पनि तीन महिनायता मूल्य समायोजन भएको छैन ।

बीस अर्ब बक्यौता र सात अर्ब ऋण

निगमका प्रवक्ता विनीतमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढका कारण अस्थिर भएको र आइओसीलाई ऋण तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिएको जानकारी दिए । ‘अहिले पेट्रोल र हवाई इन्धनमा नाफामा छौँ, यसमा घटाउन सकिने थियो तर ग्यासमा प्रतिसलिन्डर २७७ रुपैयाँ घाटा रहेकाले पनि व्यवस्थापन गर्न मूल्य यथावत् राखेका हौँ,’ उनले भने ।

तेल खरिद गरेबापत आईओसीको २० अर्ब रुपैयाँ र नेपाल सरकारको ऋण सात अर्ब ऋण तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिएको र आगामी मूल्य घटेर आए घटाउने उनको भनाइ छ । सरकारले कर कटौती गर्ने भन्दै गत असार ११ गते पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ घटाएको मूल्य ‘रिकभर’ नभएकाले घटाउन नसकिएको निगमको दाबी छ ।

नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष तोयम रायाले नाफा रकममा केही घटाएर उपभोक्तालाई राहत दिने गरी छलफल भइरहेको बताए । ‘सुरुदेखि नै स्वचालित मूल्य प्रणाली लागू गरेको भए यस्तो अवस्था आउने थिएन । महँगो मूल्यमा खरिद गरेर सस्तोमा बिक्री गर्दा निगम घाटामा गयो । मूल्य घटेका बेला भएको नाफाले ऋण तिर्नु परेकाले पनि घटेअनुसार मूल्य घटाउन सकिएको छैन,’ उनले भने ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसमेत रहेका रायाले उपभोक्ता हितविपरीत मङ्सिर १५ गतेको मूल्यसूचीमा डिजेल प्रतिटिलरमा ११ रुपैयाँ, पेट्रोल प्रतिलिटरमा दुई रुपैयाँ र हवाई इन्धन प्रतिलिटरमा छ रुपैयाँ मूल्य घटेर आएको बताए । लगातार मूल्य घट्दै गए पनि आइओसीलाई तिर्न बक्यौता बाँकी र सरकारको ऋण देखाएर मूल्य नघटाउँदा त्यसको मारमा उपभोक्ता परेका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि ऋण तिर्न बाँकी छ भनेर मूल्य नघटाउनु उपभोक्ता हितविपरीत भएको बताए । ‘निगम नाफा गएका बेला इन्धनको मूल्य घटाउनुपर्छ । सरकारी स्वामित्वको संस्थानले ऋणको भार उपभोक्तालाई पार्न हुँदैन,’ उनले भने । संस्था नाफा घाटामा गयो भन्दा पनि उपभोक्तालाई राहत दिन सकियो कि सकिएन भनेर मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ ।

स्वचालित मूल्य प्रणाली अनुकूल समयमा मात्र नभएर पूर्ण रूपमा कार्यान्वयनमा गर्नुपर्ने उनले बताए । पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझाले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका बेला ऋण तिर्न थोरै नाफा राखेर मूल्य घटाउँदा उपभोक्तामा राम्रो सन्देश जाने बताए । ‘मूल्य घट्दा घटाउने र बढ्दा बढाउने गरी इन्धनमा स्वचालित मूल्य प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । मूल्य बढ्दा बढाउने र घट्दा नघटाउने काम न्यायसङ्गत भएन,’ उनले भने ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार ०९:०९