सूचनाको शक्ति - The Power Of Information

        

आज विश्व माटो दिवस मनाइँदै

आज विश्व माटो दिवस पनि मनाइँदै छ । स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापनसम्बन्धी जनजागरुकता फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा विश्व माटो दिवस मनाउँदै आइएको छ ।

जमिनमूनिको पानी, कार्बनको भण्डार र वायुमण्डलमा हुने थुप्रै ग्यासहरुलाई स्वच्छ पार्न स्वच्छ माटोको आवश्यकता पर्ने विज्ञहरुको भनाइ छ । तर, जथाभाबी विषादी र रासायनिक मलको प्रयोगले माटो बिग्रन थालेको छ । नेपालको खेतीयोग्य जमिनको ५० देखि ५५ प्रतिशत माटो अम्लीय प्रकृतिकाे रहेको पाइएको छ ।

‘डिजिटल सोइल म्याप’को पछिल्लो तथ्याङ्कअनुसार नेपालको खेतीयोग्य जमिनको ५०–५५ प्रतिशत माटो अम्लीय प्रकृतिको, ४–५ प्रतिशत क्षारीय र ४०–४५ प्रतिशत माटो मात्र तटस्थ रहेको पाइएको हो । धेरैजसो बाली उत्पादनको लागि तटस्थ माटो उपयुक्त हुने गर्दछ ।

कृषि विभागका अनुसार देशका विभिन्न भागबाट लिइएको माटोको नमुना परीक्षणको तथ्याङ्क विश्लेषण गर्दा ४०–४५ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएको छ भने ४१ प्रतिशतमा मध्यम र १५ प्रतिशतमा धेरै रहेको पाइएको छ ।

प्राङ्गारिक पदार्थलाई माटोको आधारको रूपमा पनि लिइन्छ । उत्पादनशील माटोमा प्राङ्गारिक पदार्थको मात्रा तीनदेखि पाँच प्रतिशत हुनुआवश्यक हुन्छ । कृषि विकास रणनीतिले नेपालको माटोको प्राङ्गारिक पदार्थको मात्रा एक दशमलव ९६ प्रतिशतबाट चार प्रतिशतमा पुर्याउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार ०८:४४