सूचनाको शक्ति - The Power Of Information

        

आयोगले मंसिर मसान्तसम्ममा निर्वाचन प्रतिवेदन बुझाउने

निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष आफ्नो प्रतिवेदन बुझाउने तयारी अघि बढाएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिकमा निर्वाचित नामावलीसहित आयोगले यही मंसिर मसान्तसम्ममा आफ्नो प्रतिवेदन बुझाउने तयारी अघि बढाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो– ‘समानुपातिकतर्फ दलले पाउने सिटमा उम्मेदवारको नामावली पठाउन दलहरूलाई पत्र पठाउने छौं । त्यसपछि समानुपातिकतर्फ विजयी घोषणा गरिसकेपछि प्रतिवेदन बुझाउने छौं ।’

हालसम्म प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ सय ६४ सिटको मतपरिणाम आइसकेको छ । दोलखाको भने मतगणना जारी छ । प्रत्यक्षतर्फ एक सय ६४ क्षेत्रको अन्तिम परिणाममा कांग्रेस ५७ स्थानमा विजयी भएको छ भने एमालेले ४४ स्थानमा जित हासिल गर्दै दोस्रो स्थान कायम गरेको छ ।

त्यसै गरी माओवादी केन्द्र १७, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले ७-७ स्थानमा जित हासिल गरेका छन् ।

त्यस्तै, स्वतन्त्रको ५, लोकतान्त्रिक समाजवादीको ४, नागरिक उन्मुक्तिको ३, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाको १/१ सिट आएको छ । गणना भइरहेको दोलखामा माओवादी उम्मेदवारले अग्रता लिइरहेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार ०७:४५