प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आएलगत्तै सोमबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।
प्रत्यक्षतर्फ १६४ क्षेत्रको परिणाम आइसकेको छ भने समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा छ ।
चुनावी परिणामको समीक्षा र भावी सरकार गठनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको हो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी गठबन्धन दलको बैठक बोलाएका छन् ।
बैठकमा चुनावको परिणामको समीक्षा र आगामी सरकार निर्माण लगायत विषयमा छलफल हुने नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।
कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन् । चुनावमा लोकतान्त्रिक समाजवादी पार्टीले पनि आंशिकरुपमा गठबन्धन गरेको थियो भने चुनावपछि सरकार निर्माण भने जनमत पार्टीसमेत सामेल हुने भएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ