सूचनाको शक्ति - The Power Of Information

        

कहिले हुन्छ नवनिर्वाचित सांसदको सपथ र सभामुख चयन ?

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । निर्वाचन सकिएसँगै नयाँ संसद बैठक कहिलेदेखि सुरु हुन्छ भन्नेमा चासो बढेको छ ।

प्रत्यक्ष तथा समानुपातिक तर्फको अन्तिम मतपरिणाम एक–दुई दिनभित्रमा आइसक्ने आयोगले जनाएको छ । निर्वाचन आयोगले समानुपातिक तर्फका सांसदहरुको समेत टुङ्गो लगाएर नव निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको विवरण संघीय संसदलाई उपलब्ध गराउने व्यवस्था रहेको छ ।

आयोगले नवनिर्वाचित सांसदहरुको विवरण पठाएको केही दिनभित्रै विशेष कार्यक्रम राखेर सांसदहरुको सपथ गराइने संघीय संसद सचिवालयका प्रवक्ता डा।रोजनाथ पाण्डेले जानकारी दिए ।

सांसदहरुलाई संसदमा रहेका सदस्यहरू मध्ये जेष्ठ सदस्यले सपथ गराउनेछन्, त्यसअघि उनले राष्ट्रपतिबाट सपथ लिने व्यवस्था रहेको छ । सांसदहरुले सपथ लिएर पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वाचित गर्ने व्यवस्था रहेको छ ।

सांसदहरुको सपथ कहिले गर्ने भन्नेबारेमा अझै निश्चित भइनसकेको प्रवक्ता डा। पाण्डेले बताए । आयोगको पत्र आएपछि सांसदहरुलाई सपथ गराउने कार्यक्रमबारे पत्र पठाउनुपर्ने हुन्छ ।

निर्वाचन आयोगले जति छिटो नवनिर्वाचित सांसदको विवरण सचिवालयमा पठाउँछ त्यति छिटो सपथ हुने उनले बताए । निर्वाचन आयोगले यसअघि मंसिर २० गतेसम्म निर्वाचन परिणाम टुङ्गो लगाएर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने बताएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतवार १८:१२