संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनाका लागि दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ ।
‘युनाइटेड नेसन मिसन इन साउथ सुडान (अनमिस)’ दक्षिण सुडानमा तैनाथ श्री चन्दननाथ गण (शान्ति सेना)आठौं डफ्फालाई बदली गर्नको लागि श्री वीरदल गण (शान्ति सेना) नवौं डफ्फाको पहिलो टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
प्रमुख सेनानी राजन दाहालको नेतृत्वमा २१३ जना नेपाली शान्ति सैनिकहरु इथियोपियन एयरलाइन्समार्फत काठमाडौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका नेपाली सेनाले जनाएको छ ।
साथै, उक्त मिशनमा तैनाथ श्री चन्दननाथ गण (शान्ति सेना) आठौं डफ्फाको पहिलो टोलीका २१३ जना शान्ति सैनिकहरु सेनानी गोपाल सिंह बोहराको नेतृत्वमा शनिबार उक्त एयरलाइन्स मार्फत स्वदेश फर्किएका छन् ।
नेपाली सेनाले संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत यूएन मिसनहरुमा खट्टिएर शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

सत्यपाटी संवाददाता । काठमाडौं