सूचनाको शक्ति - The Power Of Information

        

३० हजार बढी मत ल्याएर पराजित हुने २० उम्मेदवार

प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजित भएका छन् । जसमा नेपाली कांग्रेसका आठ, नेकपा एमालेका सात, नेकपा माओवादी केन्द्रका तीन, नेकपा एकीकृत समाजवादीका एक र राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गर्दा पनि पराजित हुनुपरेको छ ।

प्रदेश नं १ बाट पाँचथर–१ मा नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेले ३२ हजार ८९ मत प्राप्त गरे पनि ४६ मतान्तरले पराजित भए । कांग्रेसकै कृष्णप्रसाद सिटौला पनि झापा–३ मा ३७ हजार ३८६ मत प्राप्त गर्दा पनि पराजित भए । मोरङ–२ मा कांग्रेसकी सुजाता कोइरालाले ३१ हजार ९४०, सुनसरी–३ मा कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६००, सुनसरी–४ मा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरे पनि विजयी हुन सकेनन् ।

त्यस्तै मधेस प्रदेशबाट सर्लाही–३ मा माओवादी केन्द्रका नरेन्द्र साह कलवारले ३२ हजार १६८ र बारा–१ मा कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त हुँदा पनि पराजित भए । बागमती प्रदेशमा रामेछाप–१ मा एमालेका कैलाशप्रसाद ढुङ्गेलले ३० हजार ७३० मत, काभ्रेपलाञ्चोक–१ मा एमालेका रेशमबहादुर लामाले ३० हजार ५४८ मत, काभ्रेपलाञ्चोक–२ मा कांग्रेसका शिवप्रसाद हुमागाईँले ३९ हजार ४८२ मत, मकवानपुर–२ मा एकीकृत समाजवादीका विरोध खतिवडाले ३० हजार ४३२ मत पाएर पराजित भए ।

गण्डकी प्रदेशबाट लमजुङ–१ मा माओवादी केन्द्रका देवप्रसाद गुरुङलाई ३१ हजार ७९१ मत, नवलपरासी बर्दघाट सुस्तापूर्व–२ मा एमालेका तिलबहादुर महत क्षेत्रीलाई ३४ हजार ११० मत पाएर पनि हार बेहोर्नुपर्यो । यस्तै लुम्बिनी प्रदेशबाट गुल्मी–१ मा एमालेका प्रदीपकुमार ज्ञवालीले ३२ हजार १५२ मत, अर्घाखाँची–१ मा कांग्रेसकी पुष्पा भुसालले (गौतम) ४० हजार ९४५ मत, रुपन्देही–३ मा कांग्रेसका बालकृष्ण खाँणले ३४ हजार ३६ मत पाएर पराजित भए ।

यस्तै लुम्बिनी प्रदेशबाटै कपिलवस्तु–२ मा एमालेका बृजेशकुमार गुप्ताले ३८ हजार ६९७ मत, प्यूठान–१ मा राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले ३५ हजार ८१४ मत प्राप्त भएपनि पराजित भएका हुन् । कर्णाली प्रदेशमा सुर्खेत–१ मा एमालेका ध्रुवकुमार शाहीलाई ३० हजार ९८८ मतदान भएर पराजित भएका हुन् । सुदूरपश्चिम प्रदेशमा बैतडी–१ मा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर ३२ हजार ८० मत पाएर पनि पराजित भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतवार ०८:१५