सूचनाको शक्ति - The Power Of Information

        

गाउँपालिकासँग योजना सम्झौता गर्न तीन दिन पैदल

हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका स्थानीयलाई तीन दिन पैदल हिँडेर योजना सम्झौता गर्नु पर्ने बाध्यता रहेको छ ।

गाउँपालिकाले लिमीका लागि विकासे योजनाका काम अगाडि बढाउन सम्झौताका लागि सूचना सार्वजनिक गरेपछि लिमीबाट सदरमुकाम सिमकोट तीन दिन पैदल हिँडेर आउनु परेको हो ।

लिमी जाङ गाउँका फुर्बु लामाले गाउँको धर्मशाला र धर्म घट्ट निर्माणका लागि योजनाको सम्झौता गर्न लिमीबाट सदरमुकाम सिमकोटमा रहेको सम्पर्क कार्यालयमा आउन तीन लगाउनु परेको बताए ।

उनले योजनालाई समयमै सम्पन्न गर्नका लागि न्यालु लेकको हिउँ छिचोलेर सिमकोट आएर बिहीबार सम्झौता गर्ने कार्य भएको बताए । अन्य तीन दिन उनीहरूलाई योजनाको सम्झौताका लागि उपभोक्ता समिति दर्तादेखि अन्य आवश्यक कागजात तयार गर्न लागेको थियो ।

उनीसहित समितिका चार जना सदस्यहरू योजना सम्झौताकै लागि सदरमुकाम सिमकोटमा आई पुगेका छन् । लिमीकै हल्जी गाउँको खानेपानीको मुहान घेराबार योजनाको उपभोक्ता समितिका अध्यक्ष ख्याण्डाप तामाङले लिमीबाट सदरमुकाम सिमकोट पुगेर योजनाको सम्झौता गर्ने कार्य भएको बताए ।

उनको समितिबाट तीन जनाको टोलीले लिमीबाट सिमकोट आई पुग्न साँढे तीन दिन लगाएको थियो । योजना भने १० लाखको रहेको छ । उनले विकास गर्न पनि लिमीका स्थानीयलाई कठिन भएको बताउँदै यसका लागि गाउँमै प्राविधिक पुगेर योजनाको सम्झौता गर्ने व्यवस्था गर्न माग गरे ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार १४:४५