सूचनाको शक्ति - The Power Of Information

        

किसानका पीडा

कोटा निर्धारण नहुँदा भएन धान बिक्री, किसानलाई मर्का

धान खरिदका लागि मूल्य तोकिए पनि बाँकेबाट कति धान खरिद गर्ने भन्ने कोटा निर्धारण नहुँदा धान खरिद हुन सकेको छैन ।

फाइल तस्वीर

बाँकेका किसानले उत्पादन गरेको धान सरकारले खरिद नगर्दा किसान मर्कामा परेका छन् । नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बर्सेनि धान खरिद गरे पनि यसपटक धान खरिद सुरु नगर्दा किसान मर्कामा परेका हुन् ।

सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य रु दुई हजार ९६७ तोकेको छ । तर कम्पनीले धान खरिद नगर्दा किसानले व्यापारीलाई रु दुई हजार ४०४ मा बिक्री गरिरहेको डुडुवा कम्तीका किसान हरिराम यादव बताए । रकर अभावका कारण सस्तोमा धान बिक्री गर्नुपरेको उनको भनाइ छ ।

खजुरा–३ का किसान रमेश थापा पनि हिउँदे बाली गहुँ लगाउने बेला भएकाले बीउ र मलखाद खरिद गर्न पैसा नहुँदा बाध्य भएर व्यापारीलाई सस्तोमा धान बिक्री गर्नुपरेको बताउँछन् । सरकारले तोकेभन्दा प्रतिक्विन्टल रु ५०० भन्दा कममा व्यापारीले धान खरिद गरिरहेको उनको भनाइ छ ।

नेपालगन्ज, खजुरा र कोहलपुरका व्यापारीले मोटो धानको प्रतिक्विन्टल रु दुई हजार ४०० भन्दा बढी मूल्य दिन नमानेपछि अधिकांश किसानले बाध्य भएर सस्तोमा बिक्री गरिरहेका छन् । धान खरिदका लागि मूल्य तोकिए पनि बाँकेबाट कति धान खरिद गर्ने भन्ने कोटा निर्धारण नहुँदा धान खरिद हुन सकेको छैन ।

उक्त कम्पनीका नेपालगन्ज शाखा प्रमुख रामशरण लामिछानेले धान खरिदका लागि छलफल चलिरहेको भन्दै उहाँले प्रधान कार्यालयबाट अनुमति पाएपछि खरिद सुरु गरिने बताए । यस वर्ष बाँकेमा एक लाख ४९ हजार १०२ मेट्रिक टन धान उत्पादन भएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार ०९:५४