सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन विशेष

प्रतिनिधिसभामा ४० वर्षमुनिका १० र ७० माथिका १४ सांसद

सबैभन्दा बढी ४० देखि ७० वर्ष उमेर समूहमा १३८ जना निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखर रूपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका नौ जनामात्र निर्वाचित भएका छन् ।

राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा यो कूल जनसङ्ख्याको ४० दशमलव ३५ प्रतिशत रहेको छ ।

त्यस्तै, ७० वर्षमाथिका भने १४ जना निर्वाचित भएको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । साथै सबैभन्दा बढी ४० देखि ७० वर्ष उमेर समूहमा १३८ जना निर्वाचित भएका छन् । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधि सभाको प्रत्यक्षका १६५ निर्वाचन क्षेत्रमध्ये शुक्रबारसम्म १६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

प्राप्त मतपरिणाम अनुसार ४० वर्षमुनिको उमेर समूहबाट नेपाली कांग्रेसका मुस्ताङबाट २९ वर्षका योगेश गौचन थकाली, नेकपा (एमाले) का बारा–२ बाट ४० वर्षीया ज्वालाकुमारी साह र मकवानपुर–२ बाट ४० वर्षीय महेशकुमार बर्तौला तथा नेकपा (माओवादी केन्द्र) का मोरङ–४ बाट ३७ वर्षीय अमनलाल मोदी छन् ।

यस्तै, ४० वर्ष उमेर समूहमुनिका राष्ट्रिय प्रजातन्त्र पार्टीका जुम्लाबाट ३० वर्षीय ज्ञानबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं–२ बाट २७ वर्षीया सोविता गौतम, ललितपुर–३ बाट ३३ वर्षीया तोसिमा कार्की, चितवन–१ बाट ३९ वर्षीय हरि ढकाल छन् । नागरिक उन्मुक्ति पार्टीका कैलाली–१ बाट ३९ वर्षीया रञ्जिता श्रेष्ठ र कैलाली–२ बाट ३७ वर्षीय अरुनकुमार चौधरी सो उमेर समूहमा रहेको तथ्याङ्कमा उल्लेख छ ।

७० वर्षमाथिका सांसद

यसैगरी, ७० वर्षमाथिको उमेर समूहमा कांग्रेसका डडेल्धुराबाट प्रधानमन्त्री एवं सभापति ७७ वर्षीय शेरबहादुर देउवा, तनहुँ–१ बाट ७८ वर्षीय रामचन्द्र पौडेल, नुवाकोट–२ बाट ७५ वर्षीय अर्जुननरसिंह केसी, उदयपुर–१ बाट ७३ वर्षीय डा. नारायण खड्का, मोरङ–६ बाट ७२ वर्षीय डा. शेखर कोइराला छन् ।

यस उमेर समूहमा एमालेका झापा–५ बाट ७० वर्षीय केपी शर्मा ओली र कपिलवस्तु–३ बाट ७७ वर्षीय मङ्गलप्रसाद गुप्ता रहनुभएको छ भने नेकपा (माओवादी केन्द्र)का सर्लाही–२ बाट महिन्द्र राय यादव छन् ।

जनता समाजवादी पार्टी नेपालका ७३ वर्षीय नवकिशोर साह सुडी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रुपन्देही–३ बाट ७१ वर्षीय दीपक बोहरा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ बाट ध्रुवबहादुर प्रधान ७० वर्षभन्दा माथिको उमेर समूहका छन् ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महोत्तरी–३ बाट ८० वर्षीय महन्थ ठाकुर र रुपन्देही–४ बाट ७२ वर्षीय सर्वेन्द्रनाथ शुक्ला तथा राष्ट्रिय जनमोर्चाका बागलुङ–१ बाट ८० वर्षीय चित्रबहादुर केसी यस उमेर समूहका छन् ।

स्रोत : रासस
प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार ०९:२८