सूचनाको शक्ति - The Power Of Information

        

विकास

‘समृद्धिको मार्ग बन्यो कर्णाली करिडोर’

‘साउथ एण्ड नर्थ एक्सिस गोर्थ’का रूपमा लिइएको कर्णाली करिडोरले नेपाल, चीन र भारत जोड्ने छ ।

विकासको हरेक पक्षबाट पछाडि परेको कर्णाली क्षेत्रको उन्नतिका लागि निर्माण सुरु गरिएको कर्णाली करिडोरलाई यहाँका बासिन्दाले आफ्नो भाग्य र भविष्यसँग जोड्ने गरेका छन् । ‘साउथ एण्ड नर्थ एक्सिस गोर्थ’का रूपमा लिइएको कर्णाली करिडोरले नेपाल, चीन र भारत जोड्ने छ ।

कर्णाली करिडोर खुलेमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्लालाई जोड्ने छ । यो राजमार्ग चीनको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि बाँकेको भारतसँग सिमाना जोडिएको जमुनाह नाकासम्म विस्तार पुग्नेछ । कर्णाली करिडोर नामकरण गरी ट्र्याक खोल्न थालेको २१ वर्ष भएको छ ।

कर्णाली करिडोरको बाँकेको जमुनाहदेखि सुर्खेत, दैलेख, कालीकोट, बाजुरा हुँदै हुम्लाको सिमकोटदेखि चीनको सीमा क्षेत्र हिल्सासम्मको दूरी ६८२ किलोमिटर छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि हुम्लाको हिल्सासम्म ४१० किलोमिटर मात्रै रहेको छ ।

कर्णालीवासीको आशाको केन्द्रका रूपमा रहेको कर्णाली करिडोर कालिकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको नेपाली सेना जिम्मा १९६ किलोमिटर सडकको ट्र्याक खोल्ने जिम्मा पाएको नेपाली सेनाले खोलिसकेको छ ।

चीनको सिमाना हुम्लाको हिल्सादेखि सलिसल्लासम्मको १४६ किलोमिटर हिल्सा–हुम्ला सडक आयोजनाले कामको जिम्मा लिएको छ । त्यो सडकखण्डको काम पनि तीब्र रूपमा भइरहेको छ ।

विसं २०७१ चैत ५ गतेदेखि नेपाली सेनाले काम सुरु गरेको सो सडकखण्डको निर्माण कार्य सम्पन्न भएपछि सडक विभाग अन्तर्गतको हिल्सा–सिमकोट सडक आयोजनालाई २०७८ असार ३१ गते हस्तान्तरण गरेको थियो ।

कर्णाली करिडोर अन्तर्गतको कालिकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको नेपाली सेनाले निर्माण जिम्मा लिएको सडकमध्ये १९६ किलोमिटर सडक निर्माण भएर सवारी साधन चल्न थालेका छन् । बाँकी सडकखण्ड निर्माणाधीन अवस्थामा रहेको हिल्सा हुम्ला सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले जानकारी दिए ।

‘नेपाल सरकारको हिल्सा–हुम्ला सडक आयोजनाले जिम्मा लिएको १४६ किलोमिटरमध्ये हिल्सादेखि हुम्लाको सिमीकोटसम्मको ९५ किलोमिटर सडक निर्माण भइसकेको छ,’ उनले भने, ‘कर्णाली करिडोरअन्तर्गतको पाँच किलोमिटर सडक खोलेपछि आयोजनाको काम सम्पन्न हुन्छ ।’

ठेकेदारमार्फत काम गराइरहेको आयोजनाले कडा चट्टाने भिर भएका कारणले अहिले निर्माण कार्यमा समस्या भएको यादवले बताए । विस्फोटक पदार्थका लिएर नेपाली सेनाले हुम्ला सडक खण्डमा पनि काम गरिरहेको जानकारी दिए ।

बजार क्षेत्र वृद्धि

कर्णाली करिडोरमा सवारी साधन चल्न थालेपछि आर्थिक चहलपहल बढ्न थालेको छ । करिडोर क्षेत्रका आसपासमा बजार हुनसक्ने ठाउँमा जग्गाको कारोबारदेखि व्यापारको सम्भाव्यताले गर्दा आर्थिक गतिविधि बढेको हो ।

कालिकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म दर्जनौं ठाउँहरू बजारका रूपमा विस्तार भएको बाजुरा स्वामीकातिका गाउँपालिकाका पूर्व अध्यक्ष चिरञ्जीवी शाहीले बताए । ‘कर्णाली करिडोरको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म सवारी साधन चल्न थालेका छन्,’ उनले भने, ‘अहिले यो सडकखण्डका दर्जनौँ ठाउँ बजारका रूपमा विकास भएका छन् ।’

कालिकोटको खुलालु, लालिघाट, रेगिल, सान्तिघाट, भुराबगर, भात्तडी, घाटपारीचौर, जितेगडा, जारकोट, आम्तडा बाजुराको कोल्टी पिलिचौर, हिमाली गाउँपालिकाको धुलाचौरलगायतका क्षेत्र अहिले बजारका रूपमा विकसित भएका छन् ।

यी बजारमा अहिले व्यापारी केन्द्रका रूपमा स्थापित हुन थालेको कालीकोट रास्कोट नगरपालिका–८ का अनन्त बरालले बताए । ‘यहाँ कर्णाली किनारमा रहेका फाँट विगतमा त्यतिकै मिल्किएका थिए,’ उनले भने, ‘अहिले बजार क्षेत्रका रूपमा व्यापारिक नाकाका रूपमा विकास विकास भएका छन् ।’

सडक सुविधा नहुँदा जितेगडा बजारसम्म पिठ्यूँमा भारी बोकेर आउने यहाँका बासिन्दा अहिले घरमा केही न केही उत्पादन गरी व्यापार व्यवसायमा संलग्न गरेको कालीकोट उद्योग वाणिज्य सङ्घका पूर्ववरिष्ठ उपाध्यक्ष मथुरा न्यौपाने जानकारी दिइन् ।

‘करिडोर क्षेत्रका धेरै ठाउँ अहिले बजारका रूपमा विकसित भएका छन्,’ उनले भनिन्, ‘विगतका पिठ्यूँमा भारी बोकेर नुनतेल गर्ने करिडोर क्षेत्रका बासिन्दा अहिले गाडीमा सरर घरमा नै पुग्ने गरेका छन् ।’

करिडोर क्षेत्रमा तरकारी खेती विस्तार

कर्णाली करिडोरमा सवारी साधन चल्न थालेपछि आसपासका मानिस तरकारी खेतीतर्फ आकर्षित भएका छन् । विगतमा रोजगारको केही उपाय नहुँदा भारतमा रोजगारी गर्न जानेहरू अहिले तरकारी खेती गर्न थालेका छन् ।

गाउँगाउँमा नै बजार बनेका कारणले बारीमा लगाएको तरकारी कता लगेर बेच्ने भन्ने समस्या नभएको रास्कोट नगरपालिका–६ भात्तडीका किसान नरप्रसाद बरालले बताउछन् । ‘विगतमा बारीमा तरकारी लगायो भने कसरी कहाँ बेच्ने भन्ने चिन्ता हुन्थ्यो,’ उनले भने, ‘बारी छेउमा नै बजार बनेको छ । कता बेचौँ भन्ने समस्या छैन ।’

कर्णाली करिडोर क्षेत्रमा उत्पादन भएको वस्तुहरू हिमाली जिल्लामा र तराईका जिल्लामा पठाउन सजिलो भएकाले अहिले धेरै जसो मानिस कृषि पेशामा संलग्न रहेको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए ।

‘हामीले कृषि क्षेत्रमा लगानी गर्नेलाई प्रोत्साहन दिने गरेका छौँ,’ उनले भने, ‘अहिले कर्णाली करिडोर सञ्चालनमा आएपछि यहाँ उत्पादन गरिएका कृषि उपजका बस्तुहरूको बजारीकरण गर्न सजिलो भएको छ ।’

बाजुरा जिल्लाको स्वामीकार्तिक–खापर गाउँपालिकामा उत्पादन हुने गरेको स्याउ विगतमा बिक्री नहुँदा गाई भैँसीलाई खुवाउनुपर्ने अवस्था थियो । अहिले सडक सञ्चालनमा आएपछि बजारीकरण गर्न कुनै समस्या नभएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताए ।

उनका अनुसार यहाँका किसानले उत्पादन गरेको स्याउ सुर्खेत–कोहलपुर हुँदै स्याउ धनगढी पुगेको छ । बजार विस्तार हुँदा स्याउले राम्रो मूल्य पनि पाएको स्वामीकार्तिक–खापर गाउँपालिका स्वाफ्यूचर स्याउ कृषक समूह अध्यक्ष धनबहादुर रावलको भनाइ छ ।

उनले भने, ‘अहिले यहाँ उत्पादन गरिएको स्याउ बजारीकरणमा समस्या छैन ।’ विगतमा परिवार पाल्न खेती किसानमा मात्र सीमित रहेका करिडोर क्षेत्रका स्थानीयवासीले अहिले विभिन्न पेशा व्यवसायमार्फत आम्दानी लिन थालेका छन् ।

विगतमा कुनै आयस्रोत नभएका मानिसले पनि अहिले बजार क्षेत्रमा होटेल व्यवसाय सुरु गरेका छन् । पचालझरना गाउँपालिका अध्यक्ष देवजङ्ग शाहीले भन्छन्, ‘अहिले करिडोर क्षेत्रमा होटेललगायतका अन्य व्यापार व्यवसायको वृद्धि भएको छ । मानिसले अहिले राम्रो आम्दानी लिन थालेका छन्,’ उनले भने ।

पुल निर्माण तथा सडक विस्तार

कर्णाली करिडोरमा नौ वटा पक्की पुल निर्माण हुने भएका छन् । कर्णाली करिडोरको कालिकोटको खुलालुदेखि हुम्लाको सदरमुकाम सिमकोटसम्म १३ वटा पक्की पुल निर्माण हुने भएका हुन् । कर्णाली करिडोरअन्तर्गत पर्ने कालीकोट सडकखण्डको खुलालु खोला, सान्नीघाट खोला र फुगाड खोला पक्की पुल निर्माण हुने भएको हो ।

बाजुराको जुड्डी खोला, बूढीगाड खोला, गल्फगाड खोला र कवाडी खोला पक्की पुल निर्माण हुने भएको हो । त्यस्तै हुम्लाको सलीसल्लाको कर्णाली नदी र सर्केगाड खोलामा पुल निर्माण हुने हिल्सा–सिमकोट सडक आयोजना हुम्लाले जनाएको छ । पक्की पुलका लागि ठेक्का प्रक्रिया अगाडी बढेको सडक आयोजना हुम्लाका इन्जिनियर वीरेन्द्र यादवले बताए ।

उनले भने, ‘ठेक्का प्रक्रिया अगाडि बढेको छ । यी खोलामा चाँडै पक्की पुल निर्माणको काम अगाडि बढ्छ ।’ कर्णाली करिडोरअन्तर्गत कालीकोट खण्ड फराकिलो बनाउन थालिएको छ । नेपाली सेनाले गत असार ३१ गते सडक विभागलाई हस्तान्तरण गरेको थियो ।

कालीकोट जिल्लामा पर्ने खुलालुदेखि लैफुसम्मको ४२ किलोमिटर सडक फराकिलो बनाउन थालिएको छ । सडक चौडा बनाउने कामको थालनी गरिएको र दुई ठेकेदार कम्पनीहरूले काम सुरु गरेको आयोजना प्रमुख यादवले जानकारी दिए ।

कर्णाली करिडोर साँघुरो हुँदा यातायात सञ्चालनमा समस्या भएका कारणले फराकिलो पार्न लागिएको प्रमुख यादवले बताए । ‘सडक फराकिलो पार्ने पहिलो चरणको काम सुरु भएको छ,’ उनले भने, ‘अब हुम्लासम्म नै सडक फराकिलो पार्ने काम हुनेछ ।’

करिडोरअन्तर्गतको ४० किलोमिटर कालिकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र ११३ किलोमिटर हुम्ला खण्ड रहेको छ । अहिलेसम्म कर्णाली करिडोर निर्माणमा एक अर्ब पाँच करोड ७७ लाख रुपैयाँ खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

स्रोत : रासस
प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार ०९:१६