गाई, साढे, सुँगुर, खच्चर, गधा, भुस्याहा कुकुर नेपालगन्जका मुख्यमुख्य चोकमा मात्र होइन, गल्लीगल्लीमा सयौँको सङ्ख्यामा भेट्न सकिन्छ । पश्चिम नेपालकै सबैभन्दा ठूलो सहर नेपालगन्जका विभिन्न प्रमुख सडक र चोकमा घोडा, खच्चर र गाईबस्तु लगायत छाडा पशु चौपायाको बिगबिगी बढेको छ ।
सहरका अधिकांश मुख्य चोक र सडकमा छाडा घोडा, खच्चड र गाईले कब्जा गरेपछि सडक दुर्घटनाको चुनौती थपिनुका साथै सर्वसाधारणलाई आवागमन समस्या भइरहेको छ । केही दिन पहिले नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट आफैँ सडकमा खटिएर छाडा चौपायालाई बजार क्षेत्रबाट लखेटे पनि फेरि जताततै छाडा घोडा, खच्चड र गाईगोरु देखिन थालेका छन् ।
उपमहानगरले छाडा चौपाया छोड्नेलाई जरिवाना तिराउने निर्णय गरे पनि सो निर्णय कार्यान्वयन नहुँदा समस्या समाधान हुन नसकेको स्थानीयको गुनासो छ । सो समस्याप्रति उपमहानगरपालिकाले गम्भीर भएर ध्यान नदिएकै कारण पटक–पटक छाडा चौपायाको समस्या दोहोरिएको र सडकमा छाडा चौपाया बढेको नेपालगन्जबासीको गुनासो छ ।
झण्डै दुई वर्षअघि नेपालगन्जका छाडा चौपाया दैलेखमा छाड्न लगिँदा गाई, गोरु बाटोमै मरेपछि नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अदालती मुद्दाको तारेख बोक्ने अवस्थासम्म पुगेका थिए । यस घटनाले त्यसबखत देशैभरि नेपालगन्ज उपमहानगरपालिकाको चर्को आलोचनासमेत भएको थियो ।
यस घटनाअघि पनि बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने नेपालगन्ज उपमहानगरपालिकाको निर्णय आलोचित बनेको थियो । उपमहानगरपालिकाले नेपालगन्जको पुरैनीको खुल्ला स्थानमा तारवार गरी चौपाया थुन्ने गरे पनि बजारमा छाडिने छाडा चौपाया व्यवस्थापनको चुनौतीको अन्त्य भने हुन सकेको छैन ।
त्रिभुवन चोक, धम्बोझी चोक, बीपी चोक, पुष्पलाल चोक र गणेशमान चोक लगायत सुर्खेत रोड र सदरलाइनमा सबैभन्दा बढी छाडा घोडा, खच्चड र गाईगोरु भेटिने गरेका छन् । ती क्षेत्रमा दुर्घटनाको जोखिमसँगै आवागमनमा पटक–पटक अवरोधसमेत हुने गरेको सुर्खेत रोडका व्यवसायी सब्बीर सिद्दिकीको दुखेसो छ ।
घोडा, खच्चड र गाईजस्ता चौपाया पाल्नेले अटेरी गरेकै कारण नगरका अधिकांश सडकमा उनीहरूको बिगबिगी भएर दिसापिसाबबाट सडक दुर्गन्ध र फोहोर बढ्ने तथा दुर्घटना निम्तिने गरेको अधिकांश नागरिकको ठहर छ । नेपालगन्ज क्षेत्रका छाडा पशु चौपाया राख्नका लागि कान्जी हाउस भए पनि यसको उचित प्रयोग हुन सकेको छैन ।
छाडा पशु चौपाया व्यवस्थापनका लागि ठूलो क्षमताको गौशाला निर्माण गर्नुपर्ने माग गरिएको छ । त्यसतर्फ समेत सम्बन्धित निकायको ध्यान नपुगेको स्थानीयको गुनासो छ । नेपालगन्जमा छाडा पशुचौपाया ठूलो चुनौतीकै रुपमा रहेको छ । आफ्नो पशु चौपाया छाडा छाड्ने नगरका पशुधनीको प्रवृत्ति जस्ताको त्यस्तै छ ।
नेपालगन्जको छाडा चौपाया नेपालगन्जवासीद्वारा सिर्जित समस्या मात्र होइन । सीमापारि भारतको रुपैडिहा र त्यस आसपासका क्षेत्रबाट सयौँको सङ्ख्यामा पशु यता धपाउने गरिन्छ । वर्षात् शुरु हुने समयमा खच्चर कारोवारीका रोगी, थाकेका, मर्न लागेका खच्चर बजारमा यत्रतत्र छाड्ने गरेकाले पनि छाडा चौपायाको समस्या झन् बल्झिएको छ ।
सत्यपाटी संवाददाता । बाँके