तत्कालिन नेकपा माओवादीले नेपालमा २०५२ फागुन १ गतेबाट जनयुद्ध शुरु गर्यो । त्यसको नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड)ले गरे । त्यतिखेर शुरु भएको आन्दोलन २०६२–६३ सालसम्म चल्यो । १७ हजार नेपालीले आन्दोलनमा ज्यान गुमाए, राज्यलाई अर्बौंको क्षति भयो । हजारौं नेपाली बेपत्ता भए, अहिले पनि तिनीहरु कहाँ छन् ? अत्तोपत्तो छैन । त्यत्रो आन्दोलनको नेतृत्व गरेका प्रचण्डसँग गन्तव्य रहेनछ, भिजन र राजनीति गर्ने क्षमता रहेनछ भनेर जनताले प्रष्टै थाहा पाइसकेका छन् ।
२०६१ माघ १९ गते राजाले सत्ता आफ्नो हातमा लिएपछि गिरिजाप्रसाद कोइराला मोआवादीको शरणमा पुगे । सत्ता फिर्ता ल्याउन र राजतन्त्र हटाउन उनले माओवादीको सहयोग लिन खोजे । त्यतिखेर १९ दिने आन्दोलन भयो । हार खाएर राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई नै फिर्ता गरिदिए । त्यसपछि माओवादीका नेताहरु सार्वजनिक भए । उनीहरु वार्तामा आए । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि देशमा विकास हुन्छ, मुलुकले लय लिन्छ, भएका समस्याहरु अन्त्य हुन्छ भनेर जनताले आश गरेका थिए ।
अरु पार्टीका नेताले झैं माओवादीले भ्रष्टाचार गर्दैनन्, जनताको हितमा काम गर्छन् भन्ने सोच जनतामा थियो । तर, ठ्याक्कै उल्टो भयो । माओवादीका नेताहरु अत्यन्तै शोखी भए । महंगा गाडी चढ्ने, आलिशान महलमा बस्ने, ठूल्ठूला रेष्टुरेण्टमा खाने, महंगा लुगा लगाउनेबाहेक अरु केही गर्न सकेनन् माओवादीले । माओवादीका नेताहरु पनि भ्रष्टाचारको दलदलमा फस्दै गए । जुन उद्धेश्यले उनीहरुले हतियार उठाएका थिए, त्यो पुरा भएन् । जनता सबै सडकमा उतारे । तर के आश्वासन दिएर जनतालाई आन्दोलनमा ल्याएका थिए ? त्यो बिर्सिए ।
माओवादीका अध्यक्ष प्रचण्डसँग सिद्धान्त पनि छैन, विचारको पनि अभाव देखिन्छ । उनीसँग राजनीति गर्ने क्षमता पनि देखिँदैन । कहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झोला बोक्छन्, कहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको । यता र उता गर्दागर्दै उनको राजनीतिक यात्रा सखाप भयो । छोरीलाई मेयर बनाउने, बुहारीलाई मन्त्री र भाइलाई सांसद् बनाउनबाहेक उनले केही गर्न जानेनन् । आफ्नो वरिपरि घुम्ने र चाकरी गर्न सक्ने व्यक्तिलाई पटक–पटक मन्त्री बनाइदिने । जनताको कुरा सदनमा उठाउने व्यक्तिलाई उनले मन्त्री दिएनन् ।
यो उदाहरण त २०७४ सालमा जुम्लाबाट चुनाव जितेर आएर निवर्तमान सांसद् गजेन्द्र महतमा लागु हुन्छ । जनताको समस्या समाधानका लागि पहल गर्ने नेता गजेन्द्रलाई प्रचण्डले टिकट नै दिएनन् । आफ्नो क्षेत्रमा विकास नभएको भन्दै सदनमा रोएका व्यक्ति हुन्, उनी । तर, यस पटकको निर्वाचनमा उनले टिकट नै पाएनन् । उनलाई टिकट दिएको भए माओवादीले थप एक क्षेत्र गुमाउनु पर्दैनथ्यो । जनताले नरुचाएको व्यक्तिलाई उम्मेदवार बनाउँदा जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहीले जीत हात पारे ।
आफ्नो विरोधमा बोल्नेलाई कि पार्टीबाट निकाला गरिदिन्छन् कि कुनै आरोप लगाएर उसको राजनीति नै धरापमा पारिदिन्छन् । माओवादीका नेता एवम् पूर्व सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाएर राजनीति नै सिद्धयाइदिए । अहिलेको चुनावमा उनी जनताको बीचमै गएनन् । उनको विरोधमा बोल्ने बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द लगायतलाई पार्टीबाट निकालियो । यता, उनको चाकरी गर्न सक्नेले पाँच पटक मन्त्री खाइदिए । उदाहरणका लागि अर्थमन्त्री जनार्दन शर्मालाई नै लिऔं । उनी पटकपटक मन्त्री भइसकेका व्यक्ति हुन् ।
तर, जतिचोटी मन्त्री भए पनि उनले गरेका केही होइनन् । अध्यक्ष प्रचण्डकै वरपर मात्रै माओवादी पार्टी घुमिरहन्छन् । प्रचण्डले भाषण गर्दा सबैलाई आफूले नै प्रधानमन्त्री बनाएकोजस्तो गर्छन् । शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, बाबुराम भट्टराई लगायतलाई आफ्नो बलमा प्रधानमन्त्री बनाएको भन्दै उनी ठूलो पल्टिन खोज्छन् । अरुलाई प्रधानमन्त्री बनाउन सक्ने व्यक्ति आफू किन प्रधानमन्त्री बनेनन् ? जनताको काम गर्न किन आफैं मैदानमा आउँदैनन् ? यहीबाट उनको क्षमताको मूल्याकंन भइहाल्छ । हिजो त्यत्रो आन्दोलन गरे, त्यत्रो नेपाली जनताले ज्यान गुमाए ।
तर पनि उनलाई केही फरक परेको छैन । माओवादीका नेताहरुले सुःख सुविधाको जिन्दगी जीउन भनेर नेपाली जनता शहिद भएका हुन् ? जनताको ज्यान माओवादीका नेताहरुलाई सस्तो भयो । जतिबेला पनि सरकारमा जाने अनि कमाउने भाँडो बनाउने । हिजो माफियाको विरोध गरेर यहाँसम्म आइपुगेका प्रचण्ड आज ठेकेदारकै घरमा बहालमा बसेका छन् । समयमै काम नगरेर सरकारलाई हैरानी दिने ठेकेदारको घरमा उनले डेरा जमाएका छन् । तर, आफ्नो घरबेटीसमेत रहेका कामचोर ठेकेदार शैलेन्द्र अधिकारीको विरोधमा कहिलै बोल्दैनन् ।
२०६४ को चुनावमा १२१ ठाउँबाट प्रत्यक्ष जितेको माओवादी अहिले आएर १७ मा खुम्चियो । पार्टी सिद्धिसकेको छ भन्ने त उनले थाहा पाइसके होला । उनीसँग नैतिकता थियो भने उनले पार्टीको अध्यक्षबाट राजनीमा दिनुपथ्र्यो । आफ्नो कारणले पार्टी तहसनहस भएको भनेर स्वीकार्नुपथ्र्यो । पहिले–पहिले प्रचण्डलाई राजनीतिको खेलाडी भनिन्थ्यो । उनी राजनीतिमा सबैभन्दा चतुर नेता भएको बताइन्थ्यो । तर, अहिले आएर उनको काम गर्ने हैसियत पुष्टि भएको छ । मिडिया र जनताको बलमा उनी नेता भए, वडाध्यक्ष बन्न सक्ने क्षमता नभएको व्यक्ति पार्टीको अध्यक्ष बनेर हिँडेका छन् ।
जनताले यसरी नङ्ग्याउँदा पनि उनको चेत खुलेको छैन । केपीतिर जाने कि शेरबहादुरतिर चलखेल शुरु भइसकेको छ । पदको मोलमोलाई शुरु भइसकेको छ । पदका लागि जे पनि गर्ने व्यक्तिले कहिले देश विकास गर्छ ? जनताका लागि काम गर्छन् ? जसरी भए पनि उनलाई पद नै चाहिएको छ । सरकारमा गइरहने, कमाउधन्दा चलाइरहने माओवादीको उद्देश्य र योजना यही नै हो । जनताले यसरी नङ्ग्याइसकेपछि आफ्नो पार्टीलाई कसरी बलियो बनाउनेतर्फ प्रचण्ड लाग्नुपर्ने हो । सरकार त्यागेर अर्को पाँच वर्षमा जनताको मन जित्नुतर्फ अग्रसर हुनुपथ्र्यो ।
बुढापाखाले भन्थे, ‘सर्पलाई विष, मान्छेलाई इख ।’ इख नभएको मान्छेले केही पनि गर्न सक्दैनन् । अबको पाँच वर्षमा माओवादी तहसनहस हुन्छ । अझै पनि यस्तै पारा देखाउने हो भने अर्को चुनावमा माओवादीले एक क्षेत्र पनि हात पार्दैन । प्रचण्ड र माओवादीका नेतालाई राष्ट्रको माया नै छैन । देउवा र ओलीको इशारामा नाच्छ, माओवादी । माओवादी कसरी सिद्धियो ? यो अवस्थामा कसरी आयो ? भनेर जनताले मूल्याकंन गरेका छन् । माओवादीलाई यो हालतमा पुर्याउने प्रचण्ड हुन् । जनयुद्धको मुद्दा व्युँताएर आफू फस्ने हो कि भन्ने डर प्रचण्डमा छ ।
आफू बच्नका लागि उनी यताउता गरिरहन्छन् । आफू जेल जानुपर्छ भन्ने डरले उनले पार्टीलाई सखाप पारिदिए । आफ्नो राजनीतिको डोरोमा आफैंले आगो लगाइदिए । अहिलेको चुनावमा चितवन निर्वाचन क्षेत्र नं.३ बाट लडेको भए उनले अवश्य पनि हार्थे । तर, बाबुराम भट्टराईले प्रचण्डका लागि भनेर गोरखा छोडिदिए । जसले गर्दा जीत उनको हातमा पर्यो । माओवादीका कार्यकर्ताहरु प्रचण्डसँग धेरै घमण्ड भएको बताउँछन् । उनी कहिले पनि जनताको सामु ननिहुँराउने र हात नजोड्ने उनीहरुको भनाइ छ । प्रचण्डकै दही चिउरे राजनीतिले गर्दा एमाले पनि सोत्तर भयो ।
कांग्रेसले पनि जनतामाझ भएको विश्वासनियता गुमायो । माओवादी त पत्तासाफ भइहाल्यो । एउटा उखान छ, ‘बाँदरले आफ्नो घर पनि बनाउँदैन्, अरुको पनि भत्काउँछ ।’ प्रचण्ड पनि ठ्याक्कै त्यसैमा पर्छन् । अबको पाँच वर्ष प्रचण्ड कि देउवाको अघिपछि गर्छन् कि ओलीको । उनीहरुको झोला बोकेर हिँड्छन् । झिँगा धपाउँछन् । देउवाले ठाउँ दिएनन् भने ओलीतिर लागिहाल्छन् । नैतिकता भनेको के हो ? उनलाई थाहा रहेनछ । पार्टीले यत्रो हार व्यहोर्दा पनि उनी अलिकति पनि लज्जित भएका छैनन् । अझै पनि एमाले र कांग्रेसबाट पद पाइन्छ भनेर बार्गेनिङ गर्नु कतिसम्म लाजमर्दो कुरा हो ।
प्रचण्डको राजनीति कांग्रेसले खाइदियो । उनले माओवादीको सिद्धान्त र विचार लगेर कांग्रेस र एमालेको अगाडि तेर्स्याइदिए । अब माओवादी कुनै पनि हालतमा माथि आउन सक्दैन । माओवादीकी नेतृ पम्पा भुसालले ललितपुर क्षेत्र नं.३ बाट कसरी हार व्यहोर्नुपर्यो । जनताले उनलाई नराम्ररी हराए । अहिले जितेर आएका १७ जनाको पाँच वर्षपछिको अवस्था हो यो । अर्कोचोटि चुनावमा यिनीहरु पनि बाँकी रहँदैनन् । आएका सबै मन्त्री खान खोज्छन्, काम गर्दैनन्, अनि माओवादीको दुर्दशा शुरु हुन्छ । पाँच वर्षपछि माओवादीलाई बत्ती बालेर खोज्नुपर्छ ।
अनुसा थापा । काठमाडौं