सूचनाको शक्ति - The Power Of Information

        

रुघाखोकीविरुद्धको खोप नलिए दीर्घरोगी जोखिममा

तपाईं दम, मिर्गौला, मुटु, क्यान्सर या यस्तै कुनै रोग लागेको व्यक्ति हुनुहुन्छ ? यी समूहभित्र पर्नुहुन्छ तर मौसमी भाइरल इन्फ्लुएन्जाविरुद्धको खोप लिनुभएको छैन भने होस गर्नुहोस्, सामान्य रुघाखोकीले पनि ज्यान लिन सक्छ ! जोखिम समूहमा पर्नेले रुघाखोकीविरुद्धको खोप नलिएकै कारण नेपालमा बर्सेनि धेरैको मृत्यु हुने गरेको चिकित्सकहरूले बताएका छन् ।

सामान्य रुघाखोकी बिगे्रपछि निमोनिया हुने र त्यसले गर्दा बर्सेनि धेरै नेपालीको मृत्यु हुने गरेको उनीहरूको भनाइ छ । त्यसरी मृत्यु हुनेमा जोखिम समूहका व्यक्ति मात्र नभएर वृद्धवृद्धा र बालबालिकाको समेत पर्ने गरेको चिकित्सकहरू बताउँछन् ।

‘फ्लु भाइरसका कारण श्वासप्रश्वास नलीमा संक्रमण भएपछि निमोनिया भई मृत्यु हुने गरेको देखिन्छ,’ त्रिवि शिक्षण अस्पताल महाराजगन्जका सहायक निर्देशक तथा छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासले भने ।

नेपालमा हालै फैलिरहेको मौसमी रुघाखोकीले निमोनियाको जटिल रूप निम्त्याउने हुनाले सबै नागरिक सचेत हुनुपर्ने चिकित्सकको सुझाव छ । हाल ठुला अस्पतालहरूमा नियमित बिरामीभन्दा १५ प्रतिशत मौसमी रुघाखोकीका मात्र बिरामी उपचारका लागि पुगेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार ०७:४९