सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंमा राति १२ बजेसम्म रेष्टुरेन्ट खोल्न पाइने

काठमाडौं जिल्लामा मध्यराती १२ बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइने भएको छ।

मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले रात्रिकालिन व्यवसाय सञ्चालनको समय अवधिसम्बन्धी नयाँ निर्णय गरेको हो। बिहीबार जिल्ला प्रशासनले सो निर्णयबारे जानकारी गराएको छ।

निर्णयअनुसार मदिरा पसलहरु राति १० बजेसम्म, रेष्टुरेन्टहरू राति १२ बजेसम्म, डान्स बार, दोहोरी रेष्टुरेन्ट र लाउन्ज बार बिहान २ बजेसम्म र डिस्को तथा क्लब बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

रात्रिकालिन व्यवसायलाई थप व्यवस्थित गर्ने उद्देश्यले यो निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए। ‘रात्रिकालिन व्यवसायलाई सुव्यवस्थित गराउन हामीले सञ्चालन गर्न पाउने समयबारे प्रष्ट निर्णय गरेका हौैं,’ उनले भने, ‘यसबाट काठमाडौंमा पर्यटकीय तथा आर्थिक गतिविधिलाई बृद्धि गरी रोजगारी र आय आर्जन बढ्ने हाम्रो अपेक्षा छ।’

यो नियम काठमाडौंका सबै ठाउँमा लागू हुने सिडिओ उपाध्यायको भनाइ छ। हाल धेरै ठाउँमा प्रहरीले बेलुका ९–१० बजे नै रेष्टुरेन्ट बन्द गराउँदै आएको छ। कतिपयले अदालतको आदेशका आधारमा राती अबेरसम्म रेष्टुरेन्ट तथा डिस्को सञ्चालन गर्दै आएका छन्। अब भने सबैका लागि समान नियम लागू भएको छ।

यो निर्णय कार्यान्वायन गराउन प्रहरीको सहयोगी भूमिका हुने सिडिओ उपाध्याय बताउँछन्। यसअघि गृह मन्त्रालयले पर्यटकीय बजार २४सै घन्टा सञ्चालन गर्ने निर्णय गरेपनि आंशिक रुपमा मात्र कार्यान्वयनमा थियो।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार १७:५६