सूचनाको शक्ति - The Power Of Information

        

अर्जेन्टिना, पोल्याण्ड, फ्रान्स र अष्ट्रेलिया नक आउट चरणमा प्रवेश

अर्जेन्टिना, पोल्याण्ड, फ्रान्स र अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् ।

बुधबार राति भएको समूह ‘सी’ को खेलमा अर्जेन्टिना पोल्याण्डलाई २–० ले हराउँदै नकआउट चरणमा प्रवेश गरेको हो । अर्जेन्टिनाको लागि म्याक अलिष्टर र जुलियन अल्भारेजले एक/एक गोल गरे ।

यहि समूहको अर्को खेलमा मेक्सिकोले साउदी अरेबियालाई २–१ ले पराजित गरेको छ । साउदी अरेबियामाथि जित निकाले पनि मेक्सिको समूह चरणबाट बाहिरिएको छ ।

समुहका सबै खेल सकिंदा ६ अंकसहित अर्जेन्टिना समुह विजेता बन्यो भने ४ अंकसहित पोल्याण्ड उपविजेता बन्दै नक आउट चरणमा प्रवेश गरेका छन् । समान ४ अंक जोडेको मेक्सिको तेस्रो हुँदा ३ अंकसहित साउदी अरेबिया समूहको पुछारमा रह्यो ।

यस्तै, समूह ‘डी’ को खेलमा डेनर्माकलाई १–० ले हराउँदै अष्ट्रेलिया पनि नकआउट चरणमा पुगेको छ । निर्णायक खेलमा अष्ट्रेलियाको लागि म्याथ्यु लेच्कीले निर्णायक गोल गरे । अष्ट्रेलिया १६ वर्षपछि विश्वकपको नकआउट चरणमा उक्लिएको हो ।

यहि समूहको अर्को खेलमा ट्युनिसियासँग १–० ले पराजित भएपनि फ्रान्स समुह विजेता बन्दै नकआउट चरणमा पुगेको छ । ट्युनिसियाको जितमा वाह्बी खाज्रीले निर्णायक गोल गरे ।

फ्रान्स र अष्ट्रेलियाले ३ खेलमा २ जित र १ हारसहित ६ अंक जोडे । फ्रान्स गोल अन्तरमा अघि रहेर समूह विजेता बन्यो । यस्तै, ट्युनिसिया ३ खेलमा ४ अंक जोड्दै समूहको तेस्रो स्थानमा सिमित रहेर प्रतियोगिताबाट बाहिरियो । डेनमार्क १ अंक जोडेर समूह चरणबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार ०७:५३