सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधि सभा सदस्य निर्वाचन

दोलखामा आज मतदान : बाजुरामा आज बिहानदेखि मतगणना

स्याङ्जामा गएरातिदेखि गणना सुरु

 दोलखामा आज पुनः मतदान हुँदैछ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ । मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि निर्वाचन अयोगले आज पुनः मतदान गराउने निर्णय गरेको थियो । दोलखाको १० वटा मतदान केन्द्रमा पुनः मतदान हुन लागेको हो ।

वैतेश्वर गाउँपालिका वडा नं. ६ को वैतेश्वर माध्यमिक विद्यालय, वैतेश्वर गाउँपालिका वडा नं. २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्र र तामाकोशी गाउँपालिका वडा नं. ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्र गरी ७ वटा केन्द्रमा भएको भनिएको मतदान कार्य स्वच्छ, निष्पक्ष हुन नसकेको आयोगले ठहर गरेको छ ।

ती केन्द्रमा मंसिर ४ मा भएको मतदान रद्द गरिएको छ । आजको मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान केन्द्रमा कुनै पनि व्यक्तिलाई मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न गृह मन्त्रालयमार्फत् जिल्ला प्रहरी कार्यालय दोलखालाई निर्देशन दिइएको छ ।

यसैबीच, बाजुरामा आज बिहानदेखि मतगणना सुरु गर्ने तयारी छ । हिजो बसेको बैठकमा सबै दलका प्रतिनिधि नआएपछि आज बिहान ७ बजे पुन बैठक बस्ने र गणना थाल्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभयो ।

बाजुरामा एमालेले ८ र कांग्रेसले १६ ठाउँमा बुथ कब्जा गरेको एक–अर्कालाई आरोप लगाएका कारण मतगणना सुरु हुन सकेको थिएन । निर्वाचन आयोगले हिजो मतगणना सुरु गर्न निर्देशन दिएको थियो ।

मतगणना रोकिएको स्याङ्जामा गएरातिदेखि गणना सुरु भएको छ । मंसिर ४ गते भएको चुनावमा विवादपछि स्याङ्जा–२, बाजुरा र दोलखामा गणना रोकिएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार ०७:३६