नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब देशको गाडी हाँक्ने पालो आफूहरूको भएको बताएका छन् ।
उर्वरा फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले पुराना पुस्ताका नेताहरूलाई यहाँसम्म ल्याएकोमा धन्यवाद दिँदै युवाहरूले नेतृत्व गर्नुपर्ने बताए ।
‘मैले मेरो दलभित्र गर्न खोजेको त्यति मात्रै हो । तपाईंहरुले यहाँसम्म पुर्याइ दिनुभयो त्यसप्रति मेरो सम्मान छ । यो भन्दा अघि पनि गाडी हाँक्छु भन्नुभयो भने मेरो प्रश्न छ मेरो असन्तुष्टि छ,’ थापाले भने, ‘अब देशको गाडी तपाईंले होइन हामीले हाँक्ने हो । अब गाडी हाँक्ने पालो हाम्रो हो । अब हामीले चलाउँछौँ ।’
प्रत्येक युगको एउटा समय हुने बताउँदै थापाले अहिलेको युगमा आफूहरूले नेतृत्व गर्न पाउनुपर्ने बताए । ‘हाम्रो समाजको सन्तुलन ठीकढंगले भेट्न सक्नुपर्छ । कहाँ चित्त बुझाउने ? कहाँ चित्त नबुझाउने हो ? चित्त बुझाउने ठाउँमा चित्त बुझाऊँ ।
चित्त नबुझाउने ठाउँमा नबुझाऊँ, प्रश्न गरौँ ?’ थापाले भने, ‘सबै कुरामा चित्त बुझायौ भने समाज अगाडि बढ्न सक्दैन । सबै कुरामा असन्तुष्टि मात्रै राखियो भने पनि अगाडि बढ्न सक्दैनौँ । यसमा हामीले सन्तुलन मिलाउनै पर्छ ।’
नेपालका पुराना नेतृत्वले अब नेपालको गाडी हाँक्न खोज्यो भने गति र गन्तव्य दुवैमा पुग्न नसकिने थापाले बताए । ‘उहाँहरू(पुराना नेताहरू)लाई आदर सम्मानपूर्वक भन्नुपर्छ त्यहाँसम्म पुर्याउनुभयो । धन्यवाद दिनुपर्छ’ थापाले भने, ‘तर फेरि पनि पुराना नेतृत्वले गाडी हाँक्न थाल्नुभयो भने हामीले असन्तोष व्यक्त गर्नै पर्छ । त्यसमा हामीले प्रश्न गर्नै पर्छ ।’
सत्यपाटी संवाददाता । काठमाडौँ