जनमत पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड कटाएर समानुपातिकमा आफ्नो हिस्सा सुरक्षित गरेपछि प्रमुख दलहरुको समानुपातिक सिट केही घट्ने देखिएको छ ।
मंगलबार बेलुकी यो समाचार तयार पार्दासम्मको समानुपातिक मतगणना अनुसार, ९८ लाख २१ हजार सदर मत गणना भइसकेको छ । त्यसमा एमालेले २६ लाख ४६ हजार मत पाएको छ ।
निर्वाचन आयोगले समानुपातिकको सिट निकाल्न प्रयोग गर्ने सेन्ट लग विधिबाट हिसाब निकाल्दा एमालेले ३४ सिट पाउँछ । यसअघि जनमत पार्टीले थ्रेसहोल्ड नकटाउँदासम्म उसको ३५ सिट थियो ।
नेपाली कांग्रेसले समानुपातिकततर्फ २५ लाख मत कटाएको छ । कांग्रेसले अब ३२ सिट पाउने देखिन्छ । जनमतले थ्रेसहोल्ड नकटाउँदासम्म उसले ३३ सिट पाउने आकलन थियो ।
माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई उछिनेर तेस्रो बनेको छ । माओवादी केन्द्रले ११ लाख २८ हजार मत पाएको छ । रास्वपाले १० लाख ८५ हजार मत पाएको छ । यो मतपरिणामका आधारमा माओवादी केन्द्र र रास्वपाले १४/१४ सिट पाउँछन् ।
त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५ लाख ५९ हजार मत सहित ७ सिट पाउने देखिन्छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले ३ लाख ७८ हजार मत सहित ५ सिट पाउने देखिन्छ ।
जनमतलाई ४ सिट
मंगलबार बिहान जनमत पार्टीले समेत थ्रेसहोल्ड कटाएको छ । उसले ३ लाख ३६ हजार मत पाएको छ । पछिल्लो मत परिणाम अनुसार उसले ४ सिट पाउँछ ।
१ करोड ८ लाख मत खसेको अनुमानका आधारमा जनमत पार्टी थ्रेसहोल्डको सिमाबाट सुरक्षित देखिन्छ । एकीकृत समाजवादी थ्रेसहोल्डको सीमा कटाउन प्रयासरत छन् ।
उसले अहिलेसम्म २ लाख ७७ हजार मत पाएको छ । जुन कुल सदर मतको २.८२ प्रतिशतमात्रै हो । कूल सदर मतको ३ प्रतिशत मत नपाउने दलले थ्रेसहोल्ड कटाउँदैनन् र थ्रेसहोल्ड नकटाउने दलले समानुपातिकमा कुनै हिस्सा पाउँदैनन् ।
दलको नाम |
प्राप्त मत |
सिट |
नेकपा एमाले |
२६४६४४९ |
३४ |
नेपाली कांग्रेस |
२५००१५२ |
३२ |
नेकपा माओवादी केन्द्र |
११२८९०७ |
१४ |
राष्ट्रिय स्वतन्त्र पार्टी |
१०८५८५७ |
१४ |
राप्रपा |
५५९५३४ |
७ |
जनता समाजवादी पार्टी |
३७८१५० |
५ |
जनमत पार्टी |
३३६०३८ |
४ |
कुल |
९८२१५६१ |
११० |
सत्यपाटी संवाददाता । काठमाडौँ