सूचनाको शक्ति - The Power Of Information

        

दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने

दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ ।

निर्वाचन आयोगले खटाएका कर्मचारीको टोलीले स्थलगत भ्रमण र अध्ययनपछि गरेको सिफारिसका आधारमा आयोगको आज बसेको बैठकले ४ वटा मतदानस्थलका १० वटा मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

ती मतदान केन्द्रहरुमा आउँदो १५ गतेभित्र मतदान गर्नेगरी मिति तोक्न मुख्य निर्वाचन अधिकृतको कार्यालय देलखालाई निर्देशन दिएको उहाँले बताउनुभयो ।

मंसिर ४ गते दोलखाको वैत्यश्वर गाउँपालिका वडा नम्बर ६ को वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालयको मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका वडा नम्बर ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख तथा वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान स्थलका क, ख, ग मतदान केन्द्रमा भएको मतदान रद्द गरी पुनः निर्वाचन गर्ने निर्णय भएको प्रवक्ता पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आइतवार १८:४५