सूचनाको शक्ति - The Power Of Information

        

विश्व कप फुटबलमा आज चार वटा खेल हुँदै

फिफा विश्व कप फुटबलमा आज पनि चार वटा खेलहरु हुँदैछन् । आज समूह ‘ई’ र समूह ‘एफ’ को दुई/दुई वटा खेल रहेका छन् ।

आज हुने पहिलो खेलमा समूह ‘एफ’ मा रहेको मोरक्को र क्रोएसियाबीच खेल हुनेछ। क्रोएसिया साविक उपविजेता हो । क्रोएसिया र मोरक्कोबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

यस्तै, आज हुने दोस्रो खेलमा जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा रहेको जर्मनी र जापानबीचको खेल बेलुका पौने ७ बजे सुरु हुनेछ । विश्व कप फुटबल अन्तर्गत नै आजको तेस्रो खेलमा स्पेन र कोस्टारिकाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।

त्यस्तै, आज राति बेल्जियम र क्यानडाबीच खेल हुनेछ । यो खेल आज राति पौने १ बजे सुरु हुनेछ । कतार विश्व कपमा ३२ देश सहभागी छन् । गएराति भएको खेलमा साविक विजेता फ्रान्सले अस्ट्रेलियालाई ४–१ गोलले हरायो । अर्को खेलमा मेक्सिको र पोल्यान्ड तथा डेनमार्क र ट्युनिसियाले बराबरी खेलेका छन् ।

हिजो भएको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ गोलले हरायो । अर्जेन्टिनासँगको खेल जितेको खुसीयालीमा साउदीले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार ०८:११