सूचनाको शक्ति - The Power Of Information

        

९ दिनभित्र मतगणना सम्पन्न हुन्छः आयोग

 निर्वाचन आयोगले करिब ९ दिनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न गरिसक्ने अनुमान गरेको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मंगलबार संक्षिप्त प्रतिक्रिया दिँदै सहज ढंगले सम्पन्न भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य सो समयभित्र सम्पन्न गरिसक्ने योजना रहेको बताए।

उनले बाजुरामा भने मानवीय क्षति भएकाले स्थिति सहज भएपछि त्यहाँको निर्वाचन अधिकृतसँग आवश्यक छलफल गरी मतदानको मिति तय हुने समेत स्पष्ट पारे।

सहायक प्रवक्ता अर्यालले भने, ‘प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ दुवैको मतगणना जारी छ। प्रदेशसभाको पनि एकसाथ प्रत्यक्ष र समानुपातिकका मतगणना हुन्छ। हाम्रो राम्रोसँग सम्पन्न भएका र सही तरिकाले गणना प्रक्रिया अघि बढेका स्थानहरुको मत गणना आयोगले भनेजस्तै अबको ८/९ दिनमा सकिने अनुमान गर्न सक्छौँ।’

मंसिर ४ गते देशभर एकैसाथ मतदान भएको थियो। त्यसमध्ये १५ वटा मतदान केन्द्रमा भने मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ। हाल प्रतिनिधिसभाको १३८ वटा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको र ४ स्थानमा मतपरिणाम आइसकेको पनि आयोगका सहायक प्रवक्ता अर्यालले बताए।

हाल प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मतगणना भइरहेको छ। मतगणना रोकिएको कतिपय स्थानहरुमा भने राजनीतिक सहमति गरेर त्यहाँको मतगणना कार्य सुरु गर्ने पनि आयोगका सहायक प्रवक्ता अर्यालले बताए।

आयोगले सबै क्षेत्रहरुमा मतगणना सुरु भएको मितिले २ दिनभित्र मतगणना गरिसक्ने योजनाका साथ काम गरिरहेको बताएको छ। स्थगन भएका कतिपय स्थानहरुको मत परिणाम भने अझै केही समय पर्खनुपर्ने छ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १६:०३