सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन विशेष

मुस्ताङबाट कांग्रेसले खोल्यो जितको खाता, योगेश गौचन विजयी

नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् ।

सोमबार सकिएको मतगणनामा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका छन् । उनले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् ।

प्रतिनिधिसभामा निर्वाचित गौचनले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् । प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वसांसद रोमी गौचनका छोरा हुन् ।

२०७४ को निर्वाचनमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गरेका थिए । एमालेले मुस्ताङलाई आफ्नो पकड भन्दै अनिवार्य जितको क्षेत्रमा राखेको थियो ।

यस निर्वाचनमा तुलाचनले उम्मेदवार हुन नचाहेको तर जितेपछि मन्त्री बनाइदिने पार्टी नेतृत्वले आश्वासन दिएकाले उम्मेदवारी दिएको बताइएको थियो । निर्वाचन आयोगले मतपरिणाको घोषणा गर्न बाँकी रहेको छ ।

यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत ल्याएका थिए । २०७४ मा मुस्ताङमा वाम गठबन्धनबाट उम्मेदवार बनेका तुलाचनले ३ हजार ५४४ मत ल्याएका थिए । रोमी गौचनले भने ३ हजार १८१ मत प्राप्त गरेका थिए ।

यसपटक कांग्रेस र माओवादी केन्द्र लगायतको गठबन्धनको बलमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट उत्तीर्ण गरेका थकाली साविक लेतेमा कांग्रेस गाउँ सभापति, कांग्रेस जिल्ला सदस्य हुँदै हाल गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधिसमेत हुन् ।

उनले लेतेमा होटल कालोपानी र पोखरामा त्रिथुंगा ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालन गरिरहेका छन् । उनले मुस्ताङमा किविलगायत अर्गानिक कृषि फार्म पनि सञ्चालनमा छ । मुस्ताङको कूल जनसंख्या ११ हजार ५९३ रहेको छ । यस जिल्लामा कूल मतदाता १० हजार ९५७ रहेका छन् । मंसिर ४ गते आइतबार भएको निर्वाचनमा मुस्ताङमा ७ हजार २३० मत खसेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ११:५८