सूचनाको शक्ति - The Power Of Information

        

२०७९ मंसिर ५ गतेको राशिफल : धनुलाई अवसर, कुम्भलाई बाधा

२०७९ मंसिर ५ गते, सोमवार, २१ नोभेम्बर २०२२ । मार्ग कृष्णपक्ष द्वादशी तिथि, प्रातः ७ः४१ बजेदेखि त्रयोदशी । चित्रा नक्षत्र । चन्द्रराशि– कन्या, ११ः१२ बजेदेखि तुला ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

स्रोतसाधन जुट्नाले काम बन्नेछ । लगानी बढाउनुपरे पनि नयाँ व्यवसाय थालनी हुनेछ । बलभन्दा बुद्धि लगाउँदा लक्ष्य प्राप्ति हुनेछ । दिउँसोदेखि बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला । आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन् । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

कामको मेसो नमिल्दा केही अलमल हुनेछ । समयमा गम्भीर नबन्दा पनि दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । दिउँसोदेखि चुनौती पन्छाएर काम बनाउन सकिनेछ । प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउनेछ । स्रोतसाधन जुट्नाले जटिल काम समेत सम्पादन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

काममा बाधा पुर्याउनेहरू देखा पर्नेछन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ । साझेदारीमा असमझदारी बढ्नेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको सुझावमा भर नपर्नुहोला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला । आस मरे पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ । हतारमा निर्णय नलिनुहोला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ । श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । नयाँ अवसरले उत्साह जगाउने देखिन्छ । दिउँसोदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ । आफन्त टाढिन सक्छन् । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । अरूको मुख ताक्ने बानीले काममा पछि परिनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । फजुल खर्च बढ्नेछ । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । वादविवादमा अघि नसर्नुहोला । दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ । साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । अवसरवादीहरूबाट सजग रहनुहोला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ने हुन सक्छ । तापनि दिगो काम सुरु गर्ने समय छ । धेरै बोल्दा समस्या आउन सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । केही खर्च लागे पनि यात्राको साइत जुर्न सक्छ । दिउँसोदेखि महत्त्वाकांक्षी काम प्रारम्भ हुनेछ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले उत्साह जगाउनेछन् ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्य पाइनेछ । आम्दानी बढ्नेछ । रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ । दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा थप लगानी आवश्यक पर्नेछ । भैपरी आउने समस्याले खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले काममा पछि परिनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । दिउँसोदेखि गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ । आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन् । पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन् । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मेहनत गर्दा भाग्योन्नतिको समय छ । धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । तर दिउँसोदेखि विवादास्पद काम गर्नुपर्दा समस्यामा परिनेछ । लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन् । पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्ला ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अस्वस्थताले काममा बाधा पुग्न सक्छ । खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ । दिउँसोदेखि आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ । अरूका लागि केही रकम र बुद्धिसमेत खर्चनुपर्ला । बाध्यात्मक परिस्थितिले काम रोकिनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

माहोल रमाइलो रहनेछ । तापनि काम बिग्रने भयले सताउनेछ । समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा गर्नेछन् । व्यापारमा चिताएको फाइदा नहुन सक्छ । दिउँसोदेखि स्वास्थ्य कमजोर रहनेछ, आहारविहारमा ध्यान पुर्याउनुहोला । आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन् । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । कर्जामार्फत धन जुट्नेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ०७:००