सूचनाको शक्ति - The Power Of Information

        

फिफा विश्वकप–२०२२

विश्वकपकै इतिहासमा उद्घाटन खेल हार्ने पहिलो आयोजक राष्ट्र बन्यो कतार

विश्वकपको ९२ वर्षे इतिहासमा हालसम्म कुनै पनि आयोजक राष्ट्रले उद्घाटन खेलमा हार बेहोरेको थिएनन् ।

कतार फिफा विश्वकपको इतिहासमा उद्घाटन खेलमै पराजित हुने पहिलो आयोजक राष्ट्र बनेको छ । कतार विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा आइतबार इक्वेडरसँग २–० स्तब्ध बन्यो ।

विश्वकपको ९२ वर्षे इतिहासमा हालसम्म कुनै पनि आयोजक राष्ट्रले उद्घाटन खेलमा हार बेहोरेको थिएनन् । यसअघि सन् २०१० मा दक्षिण अफ्रिकाले मेक्सिकोसँग १–१ को बराबरी खेल्नु नै आयोजकको सबैभन्दा खराब नतिजा थियो ।

कतारको अल बायत रंगशालामा इक्वेडरलाई जित दिलाउन दुवै गोल कप्तान इनर भ्यालेन्सियाले गरे । खेलको १६ औँ मिनेटमा कतारका गोलकिपर साद अल सिबले भ्यालेन्सियामाथि फाउल गरेपछि इक्वेडरले पेनाल्टी पाएको थियो ।

जसमा कप्तान भ्यालेन्सियाले कुनै गल्ती गरेनन् । उनी विश्वकपको २२ औँ संस्करणमा गोल गर्ने पहिलो खेलाडी बने । यस्तै, ३१ औँ मिनेटमा भ्यालेसियाले नै हेडर गोल गर्दै इक्वेडरको अग्रता दोब्बर पारे ।

त्यसअघि खेलको तेस्रो मिनेटमा नै इक्वेडरका भ्यालेन्सियाले नै गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्री (भार)ले त्यसलाई अफसाइड दिएको थियो । जितसँगै तीन अंक जोडेको इक्वेडर समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । यो समूहमा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ०६:५६