अर्घाखाँचीको मालारानी गाउँपालिका–३ स्थित आदर्श मावि (ख) केन्द्रको मतदान पुनः सुरु भएको छ । मतदाताले मतदान गरेको प्रदेशसभाको मतपत्र प्रतिनिधिसभा सदस्यको मतपेटिकामा परेपछि विवाद भएर स्थगित भएको मतदान पुनः सुरु भएको हो ।
प्रदेशसभाको मतपेटिकामा खसाल्नुपर्ने ६५ वटा मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा खसेर विवाद भएपछि मतदान दिउँसो २ बजेदेखि स्थगित भएको थियो । बेलुका ५ बजेबाट पुनः मतदात सुरु भएको हो । यो केन्द्रमा ९२५ मतदाता रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे मानवीय त्रुटिका कारण एउटा मतपेटिकामा खसाल्नुपर्ने मतपत्र अर्काे मतपेटिकामा पर्न गएको दाबी गरे । उनले कहिलेकाहीँ मानवीय त्रुटि हुने बताउँदै छानबिन गरिने बताएका छन् । मत खसालेर घर पुगेका मतदाता फेरि मतदान गर्न लाइनमा बसेका छन् ।
सत्यपाटी संवाददाता । अर्घाखाँची