सूचनाको शक्ति - The Power Of Information

        

मानव अधिकार आयोगले देखायो निर्वाचनका कमजोरी

राष्ट्रिय मानव अधिकार आयोगले मतदाता शिक्षामा प्रभावकारिता र मतदान केन्द्रको सुव्यवस्थापनमा कमी देखिएको जनाएको छ ।

आइतबार एक विज्ञप्तिमार्फत आयोगले मतदानस्थल अपाङ्गमैत्री नभएको, देशभरका करिब २७ हजारको संख्यामा रहेका म्यादी प्रहरी र कैदीबन्दीहरू मताधिकार प्रयोग गर्नबाट बञ्चित भएको जनाएको छ । साथै निर्वाचनमा खटिएका कर्मचारीलाई पर्याप्त अभिमुखीकरण नभएकाले मतदानमा अन्यौलता रहेको पाइएको आयोगले जनाएको छ ।

‘संखुवासभाको एक मतदान केन्द्रमा प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेशसभाको मतपत्र मात्रै दिइएको, पाल्पाको एक मतदान केन्द्रमा प्रदेशसभाको मतपत्र खसाल्ने ठाउँमा प्रतिनिधिसभाको मतपेटिका राखिएको र यस प्रकारका समस्या दाङ, झापा, ललितपुर लगायतका जिल्लाका केही मतदान केन्द्रमासमेत देखिएकोले केहीबेर मतदानमा अन्यौलता सिर्जना भएको बुझिएको छ,’ आयोगले विज्ञप्तिमा भनेको छ ।

आयोगले यी कमी कमजोरीलाई मध्यनजर गर्दै आगामी निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन, मतदान केन्द्र एवम् मतदान सामग्रीको व्यवस्थापनमा सुधार गर्न, गराउन आयोग नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतवार १९:२२