सूचनाको शक्ति - The Power Of Information

        

बाजुरामा गोली चल्यो, एकको मृत्यु, तीन जना घाइते

निर्वाचनका क्रममा बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ । गोली लागेर तीन जना घाइते भएका छन् ।

बाजुराको त्रिवेणी नगरपालिका ७ स्थित दम्था मदतानस्थलमा सुरक्षाकर्मीले चलाएको गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको हो ।

घटनाका प्रत्यक्षदर्शी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य रनसिंह ऐडीले दिएको जानकारी अनुसार प्रहरीले हानेको गोली लागेर सञ्जीवको घटनास्थमै मृत्यु भएको हो ।

घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको स्थानीय प्रशासनले जनाएको छ । मृतकको शव अहिले मतदान स्थलमा रहेको विद्यालयमा राखिएको छ ।

घटनामा प्रहरी हवल्दार कृष्ण कुँवरसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय पर्शुराम उपाध्याय र खडक अएडी छन् ।

घाइते तीनै जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ । एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले हवाइ फायर गरेको बुझिएको छ ।

उक्त स्थानमा अहिले मतदान पनि रोकिएको छ भने घटनापछि अहिले त्यहाँको अवस्था त्रासपूर्ण छ । स्थानीयहरुले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतवार १८:४८