निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरु उत्साहित नदेखिएको बताएका छन् । आम निर्वाचनमा मतदाताको आशातीत सहभागिता हुन नसकेको पर्यवेक्षकहरुले प्रारम्भीक प्रतिक्रिया दिएका छन् ।
आइतबार बिहान ७ बजेबाट पर्यवेक्षण गर्दा काठमाडौं उपत्यकाका अधिकांश मतदान केन्द्रहरुमा उत्साजनक रुपमा मतदाताहरुको उपस्थिति नपाएको बताएका हुन् । उनीहरुले विगतका निर्वाचनको तुलनामा यसपटक कमै मात्रामा मतदाताहरु भोट हाल्न पुगेको पाएको बताए ।
आइतबार दिउँसो आम निर्वाचन पर्यवेक्षण समिति, नेपाल (जिओक)ले गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन शान्तिपूर्ण रुपमा अघि बढेपनि मतदाताहरुको उपस्थिति कम पाएको बताए । उपस्थित मतादाताहरुमा मतदान उत्साहजनक रहेको बताए ।
विगतका निर्वाचनमा जस्तो मतदातामा उत्साह नदेखिएको उनीहरूको भनाइ छ । उनले भने, ‘निर्वाचन शान्तिपूर्णरुपमा अघि बढ्यो । अनुगमनका क्रममा हामीले शान्त वातावरणमा धेरै उत्साहित भएर, आत्तिएर मतदान गर्न नआएको अवस्था देख्यौँ । मतदान उत्साहजनक छ र यसको परिणाम उत्साहजनक होला भन्ने आश छ ।’
त्यस्तै पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले मतदाताहरूको उपस्थिति तुलनात्मक रुपमा कम पाएको बताए । उनले सुरक्षा व्यवस्थामा भने कतै खुकुलो र कतै कडा पारिएको पाएको बताए । उनले विगतको तुलनामा मतदाताहरूको उपस्थिति तुलनात्मक रुपमा कम जस्तो देखिएको पनि बताए ।
उनले भने, ‘सुरक्षाकर्मीहरू सबै ठाउँमा एकै किसिमको चुस्त नभएको जस्तो देखिन्छ । कतै भित्र गएर निस्किँदा हुन्छ भनियो भने हामीलाई जान दिने आदेश छैन भनियो । कोर सहरी एरियामा उपस्थिति अलि कम थियो । बाहिर नयाँ बस्तीमा उपस्थिति बाक्लो थियो ।’ पूर्व गृहसचिव खेमराज रेग्मीले शान्त र सौहाद्रपूर्ण वातावरणमा निर्वाचन भइरहेको बताए ।
उनले काठमाडौं उपत्यकाका कोर एरियामा भने मतदाताहरूको उत्साह कम देखिएको बताए । त्यस्तै पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मतदान अधिकृत र मतदान केन्द्रका कर्मचारीहरूले नै मतदाताको उपस्थिति कम रहेको बताएको जानकारी दिए । उनले मतदान केन्द्रमा चाप कम रहेको बताए । उनले मतदान गर्न आएकामध्ये वृद्धवृद्धा, महिला, अपाङ्गको उल्लेख्य उपस्थिति देखिएको र मतदान शान्त रहेको बताए ।
उनले मतदान स्थलमा कुनै दबाब नरहेको बताए । उनले भने, ‘मतदान अधिकृत र मतदान केन्द्रका कर्मचारीहरूले नै मतदाताको उपस्थिति कम रहेको कुरा आयो । मतदान केन्द्रमा चाप छैन । वृद्धवृद्धा, महिला, अपाङ्गको उल्लेख्य उपस्थिति देखियो । मतदान शान्त छ, दबाब छैन । पहिलाको अनुपातमा मतदाताको सहभागिताको अनुपात नबढ्ला की भन्ने भय छ ।’ पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले बितेका निर्वाचनको तुलनामा यसपटकको निर्वाचनमा मतदाताहरूको उपस्थिति कम रहेको बताइन् ।
उनले भनिन्, ‘मतदानलाई हेर्दा सुरुदेखि नै मतदाता कम उत्साहित रहेको पायौँ । पहिला कोलाहल हुन्थ्यो यस पटक कम पाएको छौँ । मान्छेहरूको संख्या पातलो छ । पहिला देखेको निर्वाचन जस्तो माहोल छैन ।’ पूर्व मुख्यसचिव तीर्थमान शाक्यले विगतको जस्तो उत्साह यसपटकको निर्वाचनमा नदेखिएको बताए । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा देशभर भइरहेको छ । आज साँझ ५ बजेसम्म मतदान गर्न सकिने आयोगले जनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं