सूचनाको शक्ति - The Power Of Information

        

दोलखामा तनाव, २६ राउन्ड फायर, बागलुङमा हस्ताक्षर नभएको मतपत्र भेटियो

झडप र विवादका कारण दोलखाका सात ठाउँमा तनाव सिर्जना भएको छ । स्थिति नियन्त्रणमा लिन २६ राउन्ड गोली चलाउनुपरेको दोलखाका डीएसपी गंगा पौडेलले बताए ।

गौरीशंकर गाउँपालिका–२ स्थित मतदान केन्द्रमा स्थगित भएको मतदान सुचारु हुन सकेको छैन । बैतेश्वर गाउँपालिकाको वडा नम्बर–१ र २ मा पनि तनाव सिर्जना भएपछि मतदान स्थगित गरिएको छ ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर–७ र १ मा प्रहरीले गोली चलाएको छ । जिरी नगरपालिका–९ मा पनि गोली चलेको छ । तामाकोशी गाउँपालिका–३ स्थित कालापानी मावि मतदान केन्द्रमा झडप हुँदा १५ राउन्ड गोली चलाउनु परेको बागमती प्रदेशकी डीआइजी किरण बज्राचार्यले बताइन् ।

कालापानीमा सत्ता गठबन्धन र एमालेका कार्यकर्ताका बीचमा झडप भएको छ । झडपमा सुरक्षाकर्मी पनि घाइते भएका छन् । झडपको क्रममा केही मानिसहरूले ब्यालेट बक्स फुटाउन खोजेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरीको भनाइ छ ।

यता, बागलुङको जैमिनी नगरपालिका-४ स्थित जनता मावि मतदानस्थलको मतदान स्थगित गरिएको छ । उक्त मतदानस्थलमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान स्थगित गरिएको हो । स्थगित भएको मतदान सञ्चालन गर्न सर्वदलीय बैठक बसिरहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतवार १६:०४