सूचनाको शक्ति - The Power Of Information

        

दोलखामा गोली चल्यो, बागलुङमा बुथ कब्जा

दोलखाको तामाकोशी गाउँपलिकामा मतदानका क्रममा गोली चलेको छ । जिल्लाको तामाकोशी गाउँपालिकास्थित कालापानी मावि मतदानस्थल एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले १५ राउन्ड गोली चलाएको हो ।

झडपमा एक प्रहरी घाइते भएको प्रदेश प्रहरी कार्यालय बागमतीकी डीआइजी किरण बज्राचार्यले जानकारी दिइन् । प्रहरीमाथि दलका कार्यकर्ताहरूले ढुंगा प्रहार गरेको उनले जानकारी दिइन् । मतदानस्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरीको कमाण्डो फोर्स र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

यता, बागलुङ क्षेत्र नं.१ मा राष्ट्रिय जनमोर्चाका एकीकृत समाजवादीका कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लागेको छ । जैमिनी नगरपालिका वडा नं.४ स्थित सर्ककुवा मतदान केन्द्रमा बुथ कब्जा गरेको क्षेत्र नं.१ का एमालेका उम्मेदवार सूर्य पाठकले बताए ।

उनले भने, ‘जनमोर्चा र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताले एमालेका कार्यकर्तालाई खेदेर दिउँसो २ बजेदेखि बुथ कब्जा गरेका छन् ।’ उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफूले यसबारे जानकारी गराएको र पुनः मतदान हुनुपर्ने माग गरे ।

मतपत्र कब्जा गर्ने, एमालेका कार्यकर्तालाई लखेट्ने र फर्जी मतपत्र खसाल्ने जस्ता कार्यले निर्वाचनको विश्वसनीयतामाथि प्रश्न खडा भएको उनको भनाइ छ । बागलुङ १ मा सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी उम्मेदवार छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतवार १५:२८