दार्चुलाको शैल्यशिखर नगरपालिका–५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाइ फायर भएको छ ।
मतदानको विषयमा विवाद हुँदा दुई पक्षीय झडपको स्थिती सृजना भएपछि प्रहरी हवाइ फायर गरेको हो । हवाई फायरपछि केही समय मतदान स्थगित भएको थियो ।
अहिले भने मतदान पुनः सुचारु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । मत हाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि भएको सामान्य विवाद भएको थियो ।
विवादपछि प्रहरीले सम्झाउने क्रममा एक जना महिलाको टाउकोमा लठ्ठीले लागेको थियो । त्यसपछि स्थानीयबासिन्दाले आक्रोशित हुँदै ढुंगामुठा गर्न थालेपछि तीन राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।
यता, हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर ५ को डाँफे मतदान केन्द्रमा झडप हुँदा त्यहाँ कार्यरत एक जना प्रहरी सहायक निरीक्षक घाइते भएका छन् । झडपमा परेर असई रामकुमार चौधरी घाइते भएका छन् ।
वारेसनामा भोट हाल्न नदिएको भन्दै बढेको विवाद पछि झडप भएको हो । उनका अनुसार झडपलाई नियन्त्रण गर्नमा लागि अहिले मतदान रोकिएको रहेको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिइन् ।
सत्यपाटी संवाददाता । दार्चुला