सूचनाको शक्ति - The Power Of Information

        

मुस्ताङको समर गाउँ मतदान केन्द्रमा ३४ जना मात्रै मतदाता

हिमालपारको जिल्ला मुस्ताङको बारगुङ मुक्तिक्षेत्र गाउँपालिका ३ को समर गाउँमा रहेको समर आधारभूत विद्यालयको मतदान केन्द्रमा ३४ मात्र मतदाताले मतदान गर्छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि यो केन्द्रबाट मतदान गर्ने मतदाताको नामावली ३४ रहेको थियो । तर आधामात्र अर्थात् १७ मत मात्र खसेको थियो । यहाँ एउटा गाउँ (समर गाउँ)का मतदाताले मात्र मतदान गर्छन् ।

आइतबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा स्थानीय तहमा भन्दा अझ कम मत खस्ने आँकलन गरेको मतदान केन्द्रकी मतदान अधिकृत शकुन्तला अधिकारीले जानकारी दिइन् ।

‘यहाँका स्थानीय घुम्ती व्यापारका लागि नेपाल बाहिर पुगेका छन्,’ उनले भनिन्, ‘उनीहरू मतदानका लागि फर्केर आउने सम्भावना कम भएकोले यो निर्वाचनमा १४÷१५ मात्र मत खस्ने हाम्रो अनुमान छ ।’

यो मतदान केन्द्र मुस्ताङको सदरमुकाम जोमसोमबाट २१ किलोमिटर दूरीमा पर्छ । यहाँ ७ जना महिला कर्मचारी मतदान सम्पन्न गराउन खटिएका छन् ।

त्यसैगरी मुस्ताङकै वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ साङ्ताको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा ३५ जना मतदाता रहेको निर्वाचन कार्यालयका प्रमुख मदन अर्यालले जानकारी दिए ।

उता लोमन्थाङ गाउँपालिकाको सम्जोङ मतदान केन्द्रमा ६१ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङमा १० हजार ९५७ मतदाता छन् ।

यहाँ पुरुष मतदाता भन्दा महिला मतदाताको संख्या बढी छ । निर्वाचन कार्यालयका अनुसार यहाँ ५ हजार ५८१ महिला र पाँच हजार ३७५ पुरुष र एक अन्य मतदाता रहेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा ९ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतिनिधि सभातर्फ चार उम्मेदवार छन् । प्रदेश १ मा २ र प्रदेश २ मा ३ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्ने निर्वाचन कार्यालयका प्रमुख अर्यालले जानकारी दिए नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतवार १३:११