सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन विशेष

मतदानपछि प्रचण्डले भने, ‘गठबन्धनले बहुमत ल्याउँछ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृह जिल्ला चितवनमा मतदान गरेका छन् । भरतपुर महानगरपालिका–१४ शिवनगरमा रहेको पुलिस स्कुलमा रहेको मतदान केन्द्रबाट प्रचण्डले मतदान गरेका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा गोरखाबाट उम्मेदवार बनेका प्रचण्ड शनिबार चितवन आएका थिए । मतदानपछि प्रचण्ड गोरखा जाँदैछन् । मतदानपछि अध्यक्ष प्रचण्डले संविधानसभाबाट संविधान जारी भएपछिको दोस्रो आम निर्वाचन भएकाले यो निर्वाचन ऐतिहासिक महत्वको भएको बताएका छन् ।

‘स्वच्छ, धाँधलीरसिहत रुपमा निर्वाचन सम्पन्न हुनु ठुलो कुरा हो,’ प्रचण्डले भने, ‘मलाई यहाँ आएर मतदान गर्दै गर्दा गर्वको महसुस भएको छ ।’ उनले देशभरको चुनावी माहोल सकारात्मक रहेको भन्दै संविधानको संस्थागतका लागि यो निर्वाचन ठुलो महत्वको विषय रहेको बताए ।

उनले यो निर्वाचनबाट गठबन्धनले आरामले बहुमत ल्याउनेसमेत बताए । उनले प्रधानमन्त्रीकै कारण गठबन्धन नटुट्ने बताएका प्रचण्डले चितवनसँगको आफ्नो सम्वन्ध कायमै रहेको भन्दै आफु गोरखाबाट निर्वाचन लडेपनि चितवनको विकास र सम्बन्ध नटुट्ने बताए ।

उनले शासन फेरिए पनि शैली नफेरिएकोमा जनताको गुनासो आएको भन्दै त्यसलाई राजनीतिक दलहरुका लागि अवसर र चुनौति दुवै थपिएको बताए । ‘गठबन्धनले आरामसँग बहुमत ल्याउछ र गठबन्धनकै सरकार भोली बन्छ,’ प्रचण्डको भनाइ छ । उनले चुनावपछिको प्रधनानमन्त्रीमा धेरैले दावी गरे पनि गठबन्धनले टुंगो लगाइनसकेको बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतवार ०८:३६