सूचनाको शक्ति - The Power Of Information

        

विश्व कप फुटबल

फिफा विश्व कप फुटबल आजदेखि : उद्घाटनमा कतार र इक्वेडर खेल्दै

प्रतियोगितामा ३२ देश सहभागी हुँदै

फिफा विश्व कप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ ।

२२औँ संस्करणको यो प्रतियोगितामा ३२ देश सहभागी हुँदैछन् । ३२ देशलाई हरेक समूहमा ४ वटाका दरले ८ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ वटा देश अन्तिम १६ मा पुग्नेछन् ।

उद्घाटन खेल नेपाली समय अनुसार आज राति पौने १० बजे आयोजक देश कतार र इक्वेडरबीच हुँदैछ । विश्व कपका खेलहरु कतारका ८ वटा रङ्गशालामा हुनेछन् ।

समूह ‘ए’ मा कतार, इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा इङ्ल्यान्ड, इरान, अमेरिका र वेल्स, समूह ‘सी’ मा अर्जेन्टिना, साउदी अरब, मेक्सिको र पोल्यान्ड र समूह ‘डी’ मा फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिया  रहेका छन् ।

यस्तै,  समूह ‘ई’ मा स्पेन, कोस्टारिका, जर्मनी र जापान, समूह ‘एफ’ मा बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया, समूह ‘जी’ मा ब्राजिल, सर्बिया, स्वीट्जरल्यान्ड र क्यामरुन तथा समूह ‘एच’मा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया रहेका छन् । फाइनल खेल पुस ३ गते हुनेछ ।  विश्व कप फुटबल आयोजना गर्ने कतार पहिलो खाडी देश हो ।

कतारले १२ वर्षअघि विश्व कप आयोजनाको जिम्मेवारी पाएको थियो । फिफा विश्व कपको इतिहासमा पहिलो पटक जाडो महिनामा विश्व कप हुन लागेको हो । यसअघि जुन–जुलाईमा विश्व कप हुँदै आएको थियो । सन् १९३० देखि सुरु भएको विश्व कपमा अहिलेसम्म ८ वटा देशले मात्रै उपाधि जितेका छन् ।

जसमा सबैभन्दा सफल टोली ब्राजिल हो । ब्राजिलले पाँच पटक विश्व कपको उपाधि जितेको छ । यस्तै, इटली र जर्मनीले चार/चार पटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले दुई/दुई पटक तथा इङ्ल्यान्ड र स्पेनले एक/एक पटक उपाधि जितेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतवार ०७:३६