सूचनाको शक्ति - The Power Of Information

        

मतदान गर्न भारतबाट फर्किदै नेपाली, सीमा नाकामा भीडभाड

मतदानका लागि आफ्नो जिल्ला जान नेपाल–भारत जमुनाहा नाकामा आइपुगेका नेपाली ।

आइतबार हुन गइरहेको आम निर्वाचनका लागि बिहीबार रातिदेखि यहाँस्थित नेपाल–भारत जमुनाहा नाकालाई बन्द गरिए पनि मतदानका लागि भारतबाट नेपाल फर्कनेहरूको सीमा नाकामा अझै भीड छ ।

सीमा नाका बन्द गरिएकाले मतदान गर्न आउनेलाई परिचयपत्र, नागरिकता लगायतका आवश्यक कागजपत्र हेरेर आउन दिने सहमति भएकाले कागजपत्र चेकजाँचमा समय लाग्दा नाकामा फर्किनेको भीड लागेको हो ।

भोलि ४ गतेको चुनावलाई लक्षित गरी स्थानीय प्रशासनले मङ्सिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म नाका बन्द गरेको भए पनि त्यसको जानकारी नपाउँदा भारतका विभिन्न सहरबाट नेपाल फर्कने सयौँ नेपालीहरू नाकामा आइपुगेका छन् ।

नाका बन्द भए पनि शनिवार बिहानदेखि भारतबाट आएका नेपाली नेपाल–भारत नाकामा आइपुगेको सीमामा खटेका सुरक्षाकर्मीको भनाइ छ । नाका बन्दको सूचना नपाएर आएका नेपालीलाई दुवै देशका सुरक्षा निकायको समन्वयमा भित्रिन दिइएको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।

एसपी अधिकारीका अनुसार नेपालबाट बिरामी या आपतमा परेका तथा काम विशेषले आएर फसेका भारतीय नागरिकलाई आधार कार्ड हेरेर भारततिर जान पनि दिइएको छ । नेपालगन्ज नाकाबाट मात्र दैनिक दश हजारभन्दा बढी मानिस ओहोर दोहोर गर्ने गर्छन् ।

नाका बन्द भए पनि थाहा नपाएका नेपाली नाकासम्म आइपुगेकाले उनीहरूलाई आउन दिइएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख वरिष्ठ सई माधव रिजालले बताए । उनले घर फर्केकाहरूलाई स्थानीय प्रशासनले नरम नीति अपनाउँदै आउन दिइएको बताए ।

यसअघि सीमावर्ती जिल्लाका दुवै देशका सुरक्षा अधिकारीको नेपालगन्जमा भएको बैठकले मङ्सिर १ गते रातिदेखि ४ गते राति १२ बजेसम्म नाका बन्द गर्ने र नाकामा कडा निगरानी गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार १४:०५