राहदानी विभागले एक वर्षमा ९ लाख ३३ हजार २९३ वटा विद्युतीय राहदानी जारी गरेको छ । १ मंसिर ०७८ बाट विद्युतीय राहदानी वितरण सुरु गरेको विभागले एक वर्षमा राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय साथै नियोगमार्फत सो राहदानी वितरण गरेको हो ।
विभागका अनुसार हाल सबै जिल्ला प्रशासन कार्यालय, १७ इलाका प्रशासन कार्यालय र ३८ कूटनीतिक नियोगहरूबाट विद्युतीय राहदानी जारी हुने गरेको छ । जसमा राहदानी विभागबाट ३ लाख ३४ हजार ५८३, जिल्ल तथा इलाका प्रशासनबाट ५ लाख १६ हजार ८०५, साथै विदेशी नियोगबाट ८१ हजार ९०५ विद्युतीय राहदानी जारी भएका छन् ।
सेवाग्राहीले राजस्व अनलाइनबाट समेत तिर्नसक्ने व्यवस्था मिलाएर विभागले जनाएको छ । त्यस्तै, सेवा प्रवाहमा सहज बनाउन मोबाइल ‘नेपाल ई–पासपोर्ट’ एपको निर्माण गरिएको छ र सफ्टवेयरमा आवश्यक सुधार गरी अनलाइन प्रणालीलाई थप सेवाग्राही मैत्री बनाउन प्रयास समेत भइरहेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं