सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन विशेष

निर्वाचन आयोगले भन्यो, ‘मंसिर १२ सम्म सबै मतगणना गरिसक्छौं’

बाकसको मत अस्वाभाविक लागेमा पुनः मतदानको व्यवस्था गरिने निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रत्यक्षतर्फको मतगणना मतदान भएको तीन दिनमा र समानुपातिकतर्फको आठ दिनमा सक्ने बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ४ गतेको मतदानपछि प्रत्यक्षतर्फको मतगणना मंसिर ७ गते बेलुकीसम्म सकिने र त्यसको पाँच दिनपछि समानुपातिकतर्फका मतगणना मंसिर १२ गतेभित्र सकिने बताएका हुन् ।

आयोगको केन्द्रीय कार्यालयमा आज गरेको पत्रकार सम्मेलनमा उनले म प्रत्यक्षतर्फको मतगणना ७ गतेसम्म र समानुपातिकतर्फको मतगणना १२ गतेभित्र सकिने बताएका हुन् । उनले यसपटकको निर्वाचनमा बुथ कब्जा गरेर चुनाव जित्ने सपना नदेख्न उम्मेदवारलाई चेतावनीसमेत दिएका छन् ।

उनका अनुसार मतदान सकिएपछि बाकसमा भएको मत अस्वाभाविक लागेमा पुनः मतदानको व्यवस्था गरिनेछ । उनले मतदाताभन्दा मत बढी हुने अवस्था आएमा मतगणना हुनुअघि फेरि मतदान गरिने बताए । उनले यस पटकको चुनावमा धाँधली हुने स्थानमा हवाई गस्तीको समेत प्रबन्ध मिलाउने प्रयास भइरहेको जानकारी दिए ।

चुनावका वेला हुने भोज भतेर नियन्त्रणका लागि स्थानीय तहदेखि केन्द्रसम्म निकायले काम गरिरहेको जानकारी पनि दिए । आयोगले मतदानका दिन दिउँसो पनि पत्रकार सम्मेलन गर्ने योजना बनाएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए । पर्सामा भेटिएको १५ लाख मतपत्र नक्कली भएको जानकारी उनले दिए ।

आयोगले मंसिर २२ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान भएको १८ दिनपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचनको सम्पूर्ण विवरण बुझाउने बताए ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार १६:३०

सिफारिस