सूचनाको शक्ति - The Power Of Information

        

जुम्लामा छैनन् अपाङ्गमैत्री मतदानस्थल

जुम्लाको हिमा गाउँपालिका–७ खलढुङ्गाका सूर्य अधिकारी ह्वीलचियरमा आवतजावत गर्ने अपाङ्गता भएका व्यक्ति हुन् । यस्तै चन्दननाथ नगरपालिका–५ कालेखोलीका मोहन शाही र विष्णुमाया श्रेष्ठ पनि ह्वीलचियरमा आवतजावत गर्ने व्यक्ति हुन् ।

उनीहरू जस्तै मतदाता नामावली भएका अपाङ्गता व्यक्तिहरू धेरै छन् । तर आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि अपांगमैत्री मतदान स्थल छैनन् । यता चन्दननाथ नगरपालिका–७ खलाचौरका हरिचन्द्र रावल पनि ह्वीलचियरमा आवतजावत गर्ने अपाङ्गता भएका व्यक्ति हुन् ।

जुम्लामा मतदाता नामावली भएका करिब तीन हजार अपाङ्गता भएका व्यक्तिहरू छन् । उनीहरूलाई मताधिकारको अधिकार छ, तर सहजरुपमा मतदान गर्नका लागि अपाङ्गमैत्री मतदानस्थल छैनन् । अपाङ्गता भएका व्यक्तिलाई सहजरुपमा मतदान गर्नका लागि अपाङ्गमैत्री मतदानस्थल हुनुपर्ने सरकारको नीति नियम छ ।

निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी प्राप्त गरेका सरकारी निकायले अपाङ्गमैत्री मतदानस्थल बनाउन प्रयास नगरेको अपाङ्गता भएका व्यक्ति सूर्य अधिकारीले गुनासो गरेका छन् । जुम्ला भौगोलिक रुपमा विकट भए पनि समथर भएका स्थानमा अपाङ्गमैत्री मतदानस्थल बनाउन सकिने भए पनि सरोकारवाला निकायको इच्छा शक्ति नभएको अपाङ्ग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपानले बताए ।

उनले भने, ‘यो विषयमा हाम्रो घोर आपत्ति छ । हामी राज्यको ध्यानाकर्षण गराउदछौँ ।’ जिल्ला निर्वाचन कार्यालय जुम्लाका सूचना अधिकारी अभिनन्द चौलागाईंका अनुसार जुम्लामा ८३ मतदान स्थल र १०६ मतदान केन्द्र छन् । सबै मतदानस्थल अपाङ्गमैत्री नभएको उनले जनाए । उनका अनुसार भौगोलिक रुपमा नै कठिन भएकाले अपाङ्गमैत्री मतदानस्थल नभएका हुन् ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार ०८:५०